प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता परिवर्तन भएको एक वर्ष पुग्न लाग्दा पनि जेनजी आन्दोलनका माग र सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले आफू गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा सहभागी भएको स्मरण गर्दै आन्दोलनका क्रममा उठेका प्रश्नहरू अझै आफ्नो मनमा रहेको बताए।
‘गत वर्ष २३ गते जेनजी आन्दोलनको अनुमति लिने र आन्दोलनमा सहभागी हुनेमध्ये एक म पनि हुँ। आज यो सदनमा उभिएको छु। आज पनि मेरो मनमा अनेकौँ प्रश्नहरू पोलिरहेका छन्,’ उनले भने।
उनले जेनजी पुस्ता सडकमा सुशासन र राज्यको सुधारको माग गर्दै गएको तर त्यसको बदलामा लाठी र गोली खानुपरेको बताए। आन्दोलनका क्रममा आफ्ना साथीहरू राज्यको बन्दुकको निशानामा परेको उल्लेख गर्दै उनले त्यस दिनको पीडा अझै भुल्न नसकेको बताए।
‘खासमा हामी सडकमा के माग्न गएका थियौँ, जसको बदलामा हामीले लाठी र गोली खानुपर्यो? हाम्रा साथीहरू सुशासनका लागि सडकमा उत्रिँदा बन्दुकको नालको निशानामा परे र ढले,’ यादवले भने, ‘हाम्रो माग सत्ता थिएन, कुर्सी थिएन। न त हामी कसैको भाग खोस्न गएका थियौँ।’
उनले आन्दोलनको माग, मर्म र भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताको मतबाट समेत अनुमोदित भइसकेको दाबी गरे। तर आन्दोलनपछि बनेको अन्तरिम सरकारले जेनजी पुस्तासँग गरेको सहमति अझै कार्यान्वयन नगरेको उनको आरोप छ।
‘आज मसँग बोल्ने शब्द र वाक्यहरू थोरै छन्, तर पीडा र बेदना धेरै छन्। त्यो पीडायुक्त घटना र दिन सम्झिँदा मन भारी भएको छ,’ उनले भने।
यादवले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवार र घाइतेहरूसँग गरिएका प्रतिबद्धता तत्काल पूरा गर्न सरकारसँग माग गरे। साथै जेलमा रहेका जेनजी आन्दोलनका सहभागीहरूलाई तत्काल रिहा गर्न पनि उनले आग्रह गरे। ‘म ईश्वरसँग प्रार्थना गर्छु, सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस्। मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस् र जेलमा बन्द जेनजी योद्धाहरूलाई तत्काल रिहा गरियोस्,’ उनले भने।
यादवले सरकारप्रति चेतावनीसमेत दिएका छन्। उनले आन्दोलनबाट प्राप्त जनमत र युवाहरूको बलिदानलाई सरकारले अहंकारका कारण अवमूल्यन गर्न नहुने बताए।
‘बालुवाटारबाट बार्दली पुगेको एउटा वर्गले हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहंकारको कालो बादल यो सदनभित्र गर्जना बन्न नदियोस्,’ उनले भने।
उनले भदौ २३ गतेको आन्दोलनले सत्ता र जनताको सम्बन्धबारे महत्वपूर्ण पाठ सिकाएको बताए। सत्ता परिवर्तनशील भए पनि जनताको आवाज इतिहासमा जीवित रहने उनको भनाइ थियो।
‘भदौ २३ ले सिकाएको छ, सत्ता अस्थायी हुन्छ, तर जनताको आवाज इतिहासमा सधैँ जीवित रहन्छ,’ यादवले भने।
प्रकाशित: २४ भाद्र २०८३ १३:२७ बुधबार





