ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बाढीको विपत्तिबाट गुज्रिरहेको बेला विद्युत् आपूर्ति पुनःस्थापनाका लागि आफूहरू दिनरात खटिरहेको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले यस्तो अवस्थामा विद्युत् संरचनाका तामाका तार तथा अन्य पाटपुर्जा चोरी हुनु अत्यन्त दुखद र गम्भीर विषय भएको बताए।
'बाढीको विपत्तिबाट गुज्रिरहेको बेला विद्युत् आपूर्ति पुनःस्थापनाका लागि हामी दिनरात खटिरहेका छौँ,' उनले भने, 'यस्तो अवस्थामा विद्युत् संरचनाका तामाका तार तथा अन्य पाटपुर्जा चोरी हुनु अत्यन्त दुःखद र गम्भीर विषय हो।'
यी सामग्री कसैको निजी सम्पत्ति नभइ राष्ट्रिय सम्पत्ति भएको र अहिले प्रभावित नागरिकको घरमा बत्ती पुर्याउन आवश्यक पर्ने महत्वपूर्ण संरचना/सामग्री भएको मन्त्री श्रेष्ठले जिकिर गरे।
यस्तो गतिविधिलाई निरुत्साहित गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ। साथै शंका लाग्ने गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराइदिन उनले अनुरोध समेत गरेका छन्।
'यस्तो गतिविधिलाई निरुत्साहित गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक छ। शंका लाग्ने गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराइदिनुहुन अनुरोध गर्दछु,' उनले भने, 'विपत्तिको यो समयमा एक-अर्कालाई सहयोग गरौँ, राष्ट्रिय सम्पत्तिको संरक्षण गरौँ।'
प्रकाशित: २२ भाद्र २०८३ १३:३८ सोमबार





