नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सरकारलाई सहयोग गर्न तयार भएपनि सरकारले नै सहयोगको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।
शनिबार बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिने क्रममा उनले यस्तो बताएका हुन्।
ओलीले राज्य शक्तिको दुरुपयोग रोक्न सरकारलाई आग्रह गर्दै सेना र प्रहरीलाई पनि नियम, कानुन र कर्तव्यको सीमाभित्र रहेर काम गर्न आग्रह गरे। ‘सेना–प्रहरीलाई पनि भन्न चाहन्छु, तपाईंहरू नियम, कानुन र कर्तव्यभित्र रहेर काम गर्नुहोस्। अनावश्यक, अनुचित आदेश आयो भने ‘यो आवश्यक आदेश होइन, यो पालना गर्न सकिँदैन’ भनेर जवाफ दिनुहोस्,’ ओलीले भने।
उनले पीडितलाई थप मर्का पर्ने गरी राज्य शक्तिको प्रयोग गर्न नहुने बताए। सरकारमा रहेका व्यक्तिहरूलाई पनि राज्य शक्तिको दुरुपयोग रोक्न आग्रह गर्दै ओलीले आफूहरूले आवश्यक सुझाव दिन तयार रहेको बताए। ‘पीडितलाई मर्का पर्ने काम गर्नु हुँदैन।
सरकारमा रहेका मान्छेहरूलाई पनि भन्न चाहन्छु, यस प्रकारको राज्य शक्तिको दुरुपयोग जसरी भइरहेको छ, यो रोक्नुहोस्,’ उनले भने। ओलीले एमालेले विगतमा जेल, नेललगायतका राजनीतिक संघर्ष भोग्दै आएको उल्लेख गर्दै अहिलेको परिस्थितिलाई पनि आफूहरूले नजिकबाट हेरिरहेको बताए। उनले वर्तमान सरकार गठनको राजनीतिक परिस्थितिमाथि समेत प्रश्न उठाए।
‘हामी सबैले भनिरहेका छौँ, हामी सरकारलाई साथ दिन तयार छौँ, सरकारसँग मिलेर काम गर्न तयार छौँ। तर सरकार सहयोग गर्न पनि दिइराखेको छैन, मिलेर काम गर्न पनि दिइराखेको छैन,’ ओलीले भने।
यद्यपि, सरकारसँग सहकार्यको अवस्था नबने पनि एमालेले आफ्नो कर्तव्यबाट पछि नहट्ने उनले स्पष्ट पारे। विपद् वा संकटका बेला जनतालाई परेको दुःखमा एमालेका कार्यकर्ता र स्वयंसेवकहरू चुप लागेर बस्न नसक्ने ओलीको भनाइ छ।
‘हाम्रा दाजुभाइ, दिदीबहिनीहरूलाई दुःख–कष्ट पर्दा नेकपा एमालेका कार्यकर्ता, एमालेका स्वयंसेवकहरू हेरेर बस्न सक्दैनन्। त्यसैले हामी आफ्नो कर्तव्य पालनमा अगाडि बढ्छौँ,’ ओलीले भने।
प्रकाशित: २७ भाद्र २०८३ १३:१७ शनिबार





