२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

हामी निर्वाचनको आन्तरिक तयारीमा छौं : प्रमुख निर्वाचन आयुक्त कार्की

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताएका छन्। 

उनले आफुहरु निर्वाचन गर्न तयार रहेको बताउँदै सरकारले तोकेको समयमा विवाद रहित निर्वाचन गर्ने बताएका हुन्। 

‘हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै। निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ।’ 

स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्नेगरी सरकार अघि बढेको भनिएपनि निर्वाचनको मितिको विषयमा आयोगले जानकारी नगराएको बताए। 

उनले भने, ‘मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन। हाम्रो संवैधानिक प्रावधानअनुरुप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो। तर, लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौँ । त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ।’ 

आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहनेगरी र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने उनको भनाइ थियो। 

उनले स्थानीय तह र प्रदेशको निर्वाचन संवैधानिक संरचना र कानुनी प्रावधानअनुरुप नै निर्वाचन हुने बताए।  उनले भने, ‘हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरुप नै निर्वाचन हुने हो। त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ । त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन । सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो।’ 

विगतका निर्वाचनमा सकारात्मक एवं निर्वाचनमैत्री माहोल सिर्जना गर्न सशक्त एवं नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्ने विषय जानकारीमा रहेको बताउँदै  प्रमुख निर्वाचन आयुक्त कार्कीले आगामी दिनमा पनि सहकार्य गर्न आयोग तयार रहेको बताएका छन्।

प्रकाशित: २२ आश्विन २०८३ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App