२ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

उपसभामुख ठाकुरलाई असहज बनाएको संसद्को भाइरल दृश्य

मंगलबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका ‘ज्वाला’ संग्रौलाले विपक्षी दलहरूमाथि तीव्र टिप्पणी गरेपछि संसदमा तनावको अवस्था सिर्जना भयो।

संग्रौलाले सरकारको वैधानिकतामाथि विपक्षी सांसदहरूले प्रश्न उठाएको भन्दै त्यसको आलोचना गरिन्। उनले विगतको शासन, भ्रष्टाचार र अव्यवस्थामाथि पनि प्रश्न उठाइन्। बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको भनाइ उद्धृत गर्दै उनले सत्य स्वीकार गर्न नसक्नेहरूले परिवर्तनमाथि नै प्रश्न उठाउने गरेको बताइन्।

संग्रौलाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार हटेको र त्यसपछि बनेको अन्तरिम सरकारको नेतृत्वमा चुनाव भएको उल्लेख गर्दै जनताले रास्वपालाई १८२ सिटसहित बहुमत दिएको दाबी गरिन्।

संग्रौलाले भनिन्, ‘आज म यो सम्मानित सदनमा उभिएर एउटा कुरा स्पष्ट रूपमा भन्न चाहन्छु-यो पटक अन्धकार, भ्रष्टाचार, अव्यवस्था र लुटतन्त्रको खोल ओढेर देशलाई बर्बाद बनाउन खोज्नेहरूको अनुहार एल्गोरिदमले हेर्नै चाहेन। एल्गोरिदमले नयाँ हेर्‍यो, युवा हेर्‍यो, सम्भावना हेर्‍यो र परिवर्तनको घण्टी बजायो।’

विपक्षी सांसदहरूले रास्वपा नेतृत्वको सरकारलाई ‘बर्बाद बनायो’, ‘भत्कायो’ लगायतका आरोप लगाइरहेको उल्लेख गर्दै उनले विगत ३५ वर्षको शासन व्यवस्थामा भएको भ्रष्टाचार र अव्यवस्थाको आलोचना गरिन्।

उनले भनिन्, ‘यो देशले सबैभन्दा बढी अव्यवस्था र भ्रष्टाचारको घाउ यही ३५ वर्षभित्र पाएको छ। त्यो ३५ वर्षको अव्यवस्था र भ्रष्टाचारको चोटलाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले उपचार गर्न सुरु गरिसकेको छ।’

संग्रौलाले उपचारका क्रममा कतै घाउ चिर्ने, कतै सिलाउने र कतै मिलाउने काम गर्नुपर्ने भन्दै सरकारले देशलाई भ्रष्टाचार, अनियमितता र गुन्डाराजको ‘क्यान्सर’बाट मुक्त गराउन खोजिरहेको दाबी गरिन्।

विपक्षी दलका नेताहरूले वर्तमान सरकारले देश चलाउन नसके आफूहरू सरकारमा आउने अभिव्यक्ति दिने गरेको भन्दै उनले त्यसप्रति आक्रोश पोखिन्। भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएकाहरूका परिवारले अझै शोक मनाइरहेको उल्लेख गर्दै उनले भनिन्, ‘कुन हिम्मतले फेरि यहाँ आउँछौ र तिनै जनतामाथि शासन गर्छौ भनेर उहाँहरूले भनिरहनुभएको छ?’

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार सञ्चालन भइरहेको उल्लेख गर्दै संग्रौलाले सरकारप्रति विश्वास गर्न आग्रह गरिन्। उनले प्रधानमन्त्रीले कालो वा सेतो जुनसुकै चस्मा लगाए पनि देश बनाउने काम हुनुपर्ने भन्दै विपक्षी दलहरूको नियतमाथि प्रश्न उठाइन्।

उनको अभिव्यक्तिपछि विपक्षी सांसदहरू उठेर विरोध जनाए। त्यसपछि उपसभामुख रुबीकुमारी ठाकुरले सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै सदनको मर्यादा कायम गर्न निर्देशन दिइन्। विपक्षी सांसदहरू आफ्नो स्थानमा नबसेपछि उनले एमाले सांसद साजिदा खातुन सिद्धिकीलाई नियमापत्ति जनाउन एक मिनेट समय दिइन्।

सिद्धिकीले संग्रौलाको अभिव्यक्तिप्रति आपत्ति जनाइन्। उनले विपक्षीलाई ‘गुन्डाराज’सँग जोडेर गरिएको टिप्पणीप्रति असहमति जनाउँदै सरकारका गलत कामको विरोध गर्न आफूहरू पछि नहट्ने बताइन्।

संग्रौलाले जेनजी आन्दोलनको प्रसंग उठाएको भन्दै उनले सिराहामा प्रहरीले गोली चलाएको घटनाबारे पनि सरकारले जवाफ दिनुपर्ने माग गरिन्।

उनले भनिन्, ‘भर्खरै माननीयज्यूले थुप्रै शब्दहरू बोल्नुभयो। ती शब्दहरूलाई सम्मान कसरी गरूँ? एकातर्फबाट धम्क्याउने कार्य गर्नुहुन्छ, अर्कोतर्फबाट चिर्ने र मलहम लगाउन तयार हुनुहुन्छ।’

उनले थप भनिन्, ‘आज गुन्डाराजका कुरा गर्दा गुन्डाराज कहाँ छन् भनेर तपाईंहरूले भन्नुपर्ने अवस्था आयो, किनभने सरकार तपाईंको छ, तपाईंको सरकार छ, गुन्डाराज त्यहीँ छ। आज प्रतिपक्षले बोल्दा तपाईंले गुन्डा भनेर बयान गर्ने? आज देशको अवस्था कहाँ गइरहेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ। हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामी समर्थन गर्दैनौँ। जेनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नुपर्छ। जेनजी आन्दोलनसँगै सिराहामा तपाईंका प्रहरीले गोली ठोक्दा त्यसको जवाफ सरकारले दिनुपर्छ।’

सिद्धिकीपछि संग्रौलाले पुनः जवाफ दिन खोज्दा विपक्षी सांसदहरूले विरोध जनाए। उपसभामुख ठाकुरले नियमापत्तिको व्यवस्था रहेको भन्दै संग्रौलालाई स्पष्टीकरण दिन समय दिइन्।

संग्रौलाले आफूले प्रयोग गरेको ‘गुन्डाराज’ शब्दप्रति आपत्ति जनाइएको भन्दै तत्कालीन सरकारसँग सम्बन्धित व्यक्तिहरू र उनीहरूमाथि गरिएको कारबाहीको प्रसंग उठाइन्।

उनले विपक्षी सांसदले ‘तपाईंहरूको प्रहरी’ भनेको भन्दै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन आग्रह गरिन्। संग्रौलाले भनिन्, ‘प्रहरी जनताको हुन्छ। कुनै सत्ताको चाकडी गर्ने प्रहरी हुँदैन।’

त्यसपछि उपसभामुख ठाकुरले विषयलाई थप नलम्ब्याउन सांसदहरूलाई आग्रह गरिन्। उनले एउटै विषय पटक-पटक नदोहोर्‍याउन र सदनको मर्यादा कायम राख्न निर्देशन दिइन्।

तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि उपसभामुखले विपक्षी बेन्चबाट एमालेकी सांसद रिंगला यादवलाई समय दिइन्। यादवले पनि संग्रौलाले प्रयोग गरेको ‘गुन्डा’ र ‘अराजक’ जस्ता शब्दप्रति आपत्ति जनाइन्।

उनले तत्कालीन सरकारमाथि गुन्डा पालेर राखेको आरोप लगाइए पनि वर्तमान सरकारले कस्ता व्यक्तिलाई संरक्षण दिएको छ भन्ने प्रमाण विपक्षीसँग रहेको दाबी गरिन्।

यादवले सांसदले आफ्नो निर्धारित समयभित्र धारणा राखिसकेपछि नियमापत्ति जनाउँदै पुनः लामो स्पष्टीकरण दिन मिल्ने वा नमिल्ने विषयमा पनि प्रश्न उठाइन्।

उनले भनिन्, ‘माननीय सदस्यले चार-पाँच मिनेटको आफ्नो वक्तव्य दिइसकेपछि नियमापत्ति भएको भन्दै फेरि स्पष्टीकरण दिन मिल्छ कि मिल्दैन? त्यसको व्यवस्था कुन नियममा छ, सभामुख महोदयले जानकारी गराइदिनुहोस्।’

उनले संग्रौलाले विपक्षी सांसदहरूलाई लक्षित गर्दै प्रयोग गरेका शब्द र अभिव्यक्तिको विषयमा पनि संसद्को नियमअनुसार स्पष्ट पारिनुपर्ने माग गरिन्।

यो सब भइरहँदा उपसभामुख ठाकुर अलिक असहज देखिन्थिन्। बेला बेलामा संसद् सचिवालयका कर्मचारीतर्फ उनको नजर दौडिरहेको हुन्थ्यो।

यसबिच सत्तापक्ष र विपक्षी सांसदबिच भनाभनको अवस्था बनेपछि उपसभामुख रुबीकुमारी ठाकुरले सांसदहरूलाई आफ्नो स्थानमा बस्न र एउटै विषय पटक-पटक नदोहोर्‍याउन आग्रह गरिन्। उनले संसद्को मर्यादा कायम राख्न निर्देशन दिँदै त्यसपछि एमाले सांसद नरेन्द्र कुमार केरुङलाई बोल्ने समय दिइन्।

केरुङले आफ्नो धारणा राखेपछि संसद्को बैठक नियमित कार्यसूचीअनुसार अघि बढ्यो।

प्रकाशित: २ भाद्र २०८३ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App