९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

गणतन्त्र र संविधान रक्षार्थ एमालेले प्रदेशमा प्रर्दशन गर्छः शेरधन राई

जेन-जी पुस्ताको आन्दोलनबाट पद्च्यूतन केपी ओली नेतृत्वको नेकपा (एमाले)ले गणतन्त्र र संविधान रक्षाका लागि प्रदेशभर जनप्रदर्शन गर्ने जनाएको छ । पार्टी स्थायी समिति सदस्य शेरधन राईले सोमबार उदयपुरमा आयोजित पार्टी कार्यकर्ता भेलामा सो कुराको जानकारी गराएका हुन् । 

पार्टीको प्रदेश इञ्चार्जसमेत रहेका नेता राईले लोकतान्त्रिक गणतन्त्र र ०७२ को संविधान  बचाउन प्रदेशभरी जनप्रर्दशन गर्ने तयारी भईरहेको बताए । जेन-जी आन्दोलनलाई ढाल बनाएर मुलुकमा अस्थीरता मच्चाउने केही तत्वहरुले लोकतन्त्र र संविधानको मर्म र भावनामाथि नै प्रहार गरिहेको भन्दै राईले त्यस्तो गतिबिधिलाई प्रतिगमनको संज्ञा दिए । एमालेले त्यस्तो प्रतिगामी कदमविरुद्ध कडा प्रतिबात गर्न जनप्रदर्शनमा उत्रिने तयारी गरिरहेको राईले बताए ।  

एमाले उदयपुरद्वारा आयोजित कार्यकर्ता भेलामा ईञ्चार्ज राईले जेन-जी आन्दोलनले देशलाई प्रतिगमनतर्फ धकलेको बताउँदै देशको राष्ट्रियतामाथि नै खतरा बढेकाले सशक्त प्रतिवाद गर्न प्रदेशभरका १४ वटै जिल्लामा जनप्रदर्शन गर्ने योजना सुनाए । केही दिनअघिको एमाले प्रदेश कमिटी बैठकले जेन-जी आन्दोलनपछिको घटनाक्रमबाट उत्पन्न परिस्थितिलाई प्रतिगमनको संज्ञा दिने ठहर गरिएको भन्दै उनले त्यसविरुद्ध एमालेले सबै जिल्ला कमिटी बैठक राखेर जिल्ला, स्थानीयतह र वडातहसम्म जनप्रर्दशन गर्ने कार्यक्रम बनाएको बताए ।  

सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि आउँदो कात्तिक २२ गते वडामा, २५ गते स्थानीयतह र २९ गते सदरमुकाममा जनप्रर्दशन गर्ने कार्यतालिका उनले सुनाए । त्यसैगरी प्रदेश राजधानी विराटनगरमा दशौँ हजार नेता कार्यकर्ताले मोटरसाईकल र्‍याली गर्ने तयारी भईरहेको जानकारी दिदै त्यसका लागि तयारी हालतमा रहन कार्यकर्तालाई निर्देशन दिए ।  

पार्टीले भ्रष्टाचार र सम्पत्ति छानविनका लागि जननिर्वाचित जनप्रतिनिधि र लाभको पदमा नियुक्ति पाएकाहरुबाटै सुरु गर्नुपर्ने माग पनि इञ्चार्ज राईले गरे । ‘म ३ पटक साँसद, १ पटक मन्त्री र साँढे ३ बर्ष प्रदेशको सँस्थापक मुख्यमन्त्री भएको नाताले पहिलो छानविन म आफैँबाट सुरुवात गर्न चाहन्छु’ उनले चुनौती दिए ‘हिम्मत गरौँ, सुरुवात मबाटै गरौँ !’  

पूर्वमुख्यमन्त्री राईले जेन-जी आन्दोलनमा देखिएका कृयाकलापले नेपाली सेना, प्रहरी र कर्मचारी संयन्त्रको पुनर्संरचना (रिफर्म)को आवश्यक्ता देखिएको बताए । ‘नेपालका सुरक्षा सङ्गठनहरु काम गर्ने तौरतरिका ठिक ढंगले नचलेको देखियो’ उनले भने ‘यिनहरुको सुधार गर्न सोच्नु पर्ने देखियो ।’ जेन-जी आन्दोलनताका सेना, प्रहरी, सशस्त्र र कर्मचारीले जनता र राज्यप्रति उत्तरदायी भएर काम गरेको नदेखिएको भन्दै यसको पुनर्संरचना गर्नुपर्ने खाँचो देखिएको उनको भनाई थियो ।  

सुरक्षा सङ्गठनहरुमा कायम कमजोरी र पुराना अभ्यास हटाएर आधुनिक, संक्षम र पारदर्शी तरिकाले काम गर्ने बनाउनु पर्ने खाँचो औँलयाउँदै राईले त्यसका लागि एमाले नेतृत्वको सरकारबाट मात्र सम्भव हुने दावी गरे । ‘२०७२ पछि एमाले नेतृत्वको सरकार र अन्य पार्टीको सरकारले गरेका विकास निर्माणका उपलब्धिलाई लेखाजोखा गर्न पनि उनको आग्रह थियो ।  

नेता राईले जेन-जी आन्दोलनलाई प्रतिगामी करार गर्दै जनताबाट निर्वाचित जनप्रतिनिधि हटाएर, भौतिक संरचना ध्वस्त बनाएर संविधानविपरित काम गरेको आरोप लगाए । ‘सुरुमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्ने उद्देश्यले आन्दोलन भएको बताउँदै उनले तर, भोलिपल्ट परिवर्तनविरोधी शक्ति, प्रतिगामी तत्व र राष्ट्रियताविरोधी शक्तिहरुको घुसपैठ गरेर जेन-जीका नाममा विध्वंस मच्याइएको उनको बुझाई छ ।  

वर्तमान सरकार चुनावको नाउमा काँग्रेस र एमालेका उमेदवारलाई मनोनय दर्ता गर्नै नदिने, गरिहाले अवरोध सृजना गर्ने र दुबै पार्टीलाई समाप्त पारेर देशमा  विदेशी प्रभाव पार्ने खेलमा लागेको आरोप लगाए ।  

तत्कालीन प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई गोली चलाउन आदेश दिएको कुरा खण्डन गर्दै राईले प्रधानमन्त्रीलाई ‘गोली चलाउन आदेश दिने’ अधिकार नेपालको कुन कानुन र धारामा छ ? भनि प्रश्नसमेत गरे ।

प्रकाशित: १७ कार्तिक २०८२ १९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App