नेकपा एमालेको सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक आज (आइतबार) बस्ने भएको छ।
कार्यदलको बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको हो। यस्तै, केन्द्रीय सचिवालयको बैठक आजै दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमै बस्ने भएको छ।
बैठकमा कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी छ। एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी तीन नेतालाई दिएको थियो।
काभ्रेको बल्थलीमा दुई दिन बसेको कार्यदलको आवासीय बैठकमा प्रतिवेदनबारे सहमति जुट्न नसकेपछि कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव शंकर पोखरेललाई दुवै प्रतिवेदन तथा सदस्यहरूले दिएका सुझाव समेटेर एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको हो।
एमालेका उपमहासचिव तथा कार्यदल सदस्य लेखराज भट्टका अनुसार तीनै नेतालाई दुई दिनको समय दिइएको थियो। उनीहरूले तयार पारेको एकीकृत प्रतिवेदनमाथि कार्यदलको आजको बैठकमा छलफल गरी पारित गरिने तय भएको छ। त्यसपछि प्रतिवेदन एमाले केन्द्रीय सचिवालयलाई बुझाइनेछ।
एमाले पुनर्गठनका लागि कार्यदलका सदस्य सचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरिएको थियो। उक्त प्रतिवेदनप्रति अध्यक्ष ओली असन्तुष्ट भएपछि कार्यदलका संयोजक बादललाई अर्को प्रतिवेदन तयार गर्न लगाइएको थियो।
त्यसपछि बादल र पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन कार्यदलको बैठकमा प्रस्तुत भएका थिए। दुवै प्रतिवेदनलाई मिलाएर एउटै बनाउने उद्देश्यले बल्थलीमा आवासीय बैठक बसे पनि सहमति जुट्न नसकेपछि तीन नेतालाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।
यसैगरी, एमालेको केन्द्रीय कमिटीको बैठक असोज ५, ६ र ७ गते रामबाग महल, भनिमण्डल, ललितपुरमा बस्ने बताइएको छ।
प्रकाशित: ४ आश्विन २०८३ ०६:५७ आइतबार





