नेकपा एमालेले नेपालको भूराजनीतिक अवस्था संवेदनशील बन्दै गएको भन्दै राष्ट्रिय हित र स्वाधीनताको संरक्षणका लागि जागरुकता अपरिहार्य रहेको जनाएको छ।
ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर एमालेले जारी गरेको ‘अन्तरपार्टी निर्देशन–३’ (अपानि–३) मा विश्वराजनीतिमा तीव्र परिवर्तन भइरहेको र त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने उल्लेख गरेको छ।
शक्तिराष्ट्रहरूमा बढ्दै गएको उग्र राष्ट्रवाद, संरक्षणवाद र एकपक्षीयताका कारण संयुक्त राष्ट्रसंघको भूमिका कमजोर बन्दै गएको एमालेले जनाएको छ। अन्तर्राष्ट्रिय सहयोग र पारस्परिक सम्मानका सिद्धान्त क्षय हुँदै गएको तथा शक्तिराष्ट्रबीचको प्रतिस्पर्धा द्वन्द्वका रूपमा प्रकट हुने अवस्था रहेको बताएको छ।
साना तथा कमजोर राष्ट्रको सार्वभौमिकतामाथि आक्रमण, धम्की र हस्तक्षेप बढिरहेको भन्दै एमालेले बदलिँदो शक्ति सन्तुलनप्रति नेपाल थप सचेत हुनुपर्ने जनाएको छ। चीन, भारत र ब्राजिलजस्ता उदीयमान अर्थतन्त्रले पश्चिमी आर्थिक प्रभुत्वको विकल्प निर्माण गर्दै लगेको पनि अपानिमा उल्लेख छ।
एमालेले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपालको आन्तरिक राजनीतिमा बाह्य चासो र भूराजनीतिक चलखेल बढेको दाबीसमेत गरेको छ। जेनजी आन्दोलनका क्रममा राज्यका पूर्वाधार, ऐतिहासिक स्थल र लोकतान्त्रिक संस्थामाथि आक्रमण भएको तथा निर्वाचित सरकार ढालेर संसद् विघटन गरिएको एमालेको भनाइ छ।
शान्तिपूर्ण विरोध र संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्ने अधिकार संविधानले सुनिश्चित गरेको भन्दै एमालेले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलाई ‘क्रान्ति’ वा ‘आन्दोलन’ मान्न नसकिने जनाएको छ।
पछिल्लो समय विभिन्न विदेशी सञ्चारमाध्यममा आएका तथ्यहरूले नेपालको आन्तरिक राजनीतिमा भूराजनीतिक स्वार्थ कसरी प्रकट भए भन्ने विषय उजागर गर्दै गएको एमालेको दाबी छ। यस्ता विषयमा नेपाली समाज सचेत र जागरुक हुनुपर्ने उसले जनाएको छ।
प्रकाशित: २० आश्विन २०८३ १५:११ मंगलबार





