१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नवयुवाले उठाएका माग सम्बोधनका लागि एमालेलाई बहुमत आवश्यक : योगेश भट्टराई

फाइल तस्बिर

नेकपा (एमाले)का उपमहासचिव योगेशकुमार भट्टराईले मुलुकलाई द्वन्द्वबाट शान्तितर्फ लैजान र नवयुवाले उठाएका सुशासनसहितका मुद्दाको उचित सम्बोधनका लागि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु अनिवार्य रहेको बताएका छन् ।  

एमाले फक्ताङलुङ गाउँपालिका कमिटीले पालिकाको केन्द्र तापेथोकमा आयोजना गरेको चुनावी सभालाई शुक्रवार सम्बोधन गर्दै नेता भट्टराईले नेपाल देश रहेमा मात्र नेपाली हुने भएकोले देश जोगाउने अभियानका साथ एमाले चुनावी मैदानमा उत्रिएको बताए । युवाको आकांक्षा अनुसार नै एमालेले यसपटक युवा र पाकाहरुलाई चुनावी मैदानमा उतारेको उनको भनाइ थियो ।  

उपमहासचिव भट्टराईले एमालेले ताप्लेजुङबाट सबैभन्दा कान्छो उम्मेदवारको रुपमा सर्वसम्मतीमा क्षितिज थेबेलाई अघि सारेको बताउँदै थेबेसहित सूर्यध्वजाबाहक उम्मेदवारलाई विजयी गराइदिन मतदाताहरुसँग अपिल समेत गरे । एमालेले बिहीबारमात्रै घोषणापत्रमार्फत मुलुक कसरी बनाउने भन्ने संकल्प अघि सारेको भन्दै उनले पार्टीले अघि सारेका घोषणा र संकल्पले समृद्ध र सुशासनयुक्त मुलुक बन्ने ठोकुवा गरे ।  

ताप्लेजुङ जिल्ला जाति, भाषा, संस्कार, संस्कृति र सभ्यताले विविधतायुक्त रहेको र एमाले जातीय सद्भावको पक्षमा रहेको बताउँदै भट्टराईले नेपालीहरुले मिलेर स्वाभीमान उचो बनाउन र सबै किसिमका अतिवादको अन्त्य गर्न एमालेले जित्नुको विकल्प नरहेको बताए । भौगोलिक हिसावले विकट र कठिन अवस्थामा रहेको ताप्लेजुङको विकास र समृद्धिका लागि आफुले केहि समय यहाँको जनप्रतिनिधि बनेर काम गर्ने मौका पाएको र केहि कार्य गरेको बताउँदै भट्टराईले बाँकी रहेका अधुरा कार्यलाई क्रमशःपूरा गर्न एमाले उम्मेदवार थेबे सक्षम रहेको बताए । भदौ २४ को विध्वंस पछि अहिले मुलुकको सार्वभौमसत्ता माथि प्रश्न उठीरहेको बताउँदै भट्टराईले मुलुकको स्वाभीमान जोगाउन,लोकतन्त्रको संरक्षण गर्न र मुलुकलाई द्धन्दबाट शान्तितर्फ लैजान एमाले उम्मेदवारहरुले जित्नुको विकल्प नरहेको बताए । 

प्रकाशित: ८ फाल्गुन २०८२ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App