१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमाले सांसदको प्रश्न : सरकारले जनतालाई भोकै राख्न खोजेको हो?

नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले बजारमा खाना पकाउने ग्यासको अभाव र बढ्दो महँगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले ग्यास नपाउँदा सर्वसाधारण समस्यामा परेको भन्दै सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने माग गरिन्। उनले बजारमा ग्यासको अभाव हुनुको कारणबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘जनता भोकमरीमा पर्न थालेका छन्। बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो? बजारमा किन महँगी भयो? ग्यास किन आएन ? जनता किन भोकमा छन् भन्ने कुराको सरकारले जवाफ दिनुपर्छ।’

सांसद बरालले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनताका दैनिक समस्यालाई बेवास्ता नगर्न आग्रह गरिन्।  ग्यासको अभावका कारण सर्वसाधारणले आफूलाई ग्यास मिलाइदिन आग्रह गर्ने गरेको बताउँदै उनले सभामुखमार्फत सरकारलाई ग्यास अभावको कारणबारे छानबिन गरी एक साताभित्र समस्या समाधानका लागि आवश्यक कदम चाल्न निर्देशन दिन माग गरिन्।

बरालले ग्यास अभावका विषयमा एमालेले ग्यास लुकाएको भन्दै सञ्चारमाध्यममा समाचार आएकोप्रति पनि आपत्ति जनाइन्।

उनले भनिन्, ‘एमालेले ग्यास लुकाएको हो भने एमालेलाई कारबाही होस्। होइन भने कसले त्यस्तो कुरा लेखायो, त्यसबारे छानबिन गरी सम्बन्धित मिडिया र निकायलाई कारबाही गरियोस्।’

सांसद बरालले सरकारलाई जनतालाई भोकमरीमा नपार्न आग्रह गर्दै ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न पुनः ध्यानाकर्षण गराइन्।

प्रकाशित: १ आश्विन २०८३ १४:२२ बिहीबार