पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दै नेकपा एमाले ताप्लेजुङले सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँमार्फत यस्तो ज्ञापनपत्र नेपाल सरकारलाई बुझाइएको नेकपा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले जानकारी दिए। ज्ञापनपत्रमा नवगठित सरकारले ‘कथित कार्की आयोग’ को प्रतिशोधात्मक र अपूर्ण प्रतिवेदनका आधारमा ओली र लेखकसहितका नेतालाई पक्राउ गरी मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाइएको छ।
जेनजी आन्दोलनलाई योजनाबद्ध र सङ्गठित रूपमा दुरुपयोग गरी असंवैधानिक बाटोबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारद्वारा गठित कार्की आयोगको प्रतिवेदनका आधारमा नेताहरूमाथि गरिएको धरपकड प्रतिशोध साँध्ने काम बाहेक अरू केही नभएको दाबी ज्ञापनपत्रमा गरिएको छ।
एमाले ताप्लेजुङले ओली र लेखकसहितका नेताहरूमाथि गरिएको दमन र धरपकडको निन्दा गर्दै अविलम्ब रिहाइको माग गरेको छ। एमाले ताप्लेजुङका पालिका कमिटीहरूले समेत ओली र लेखकसहितका नेताहरूको पक्राउको विरोधमा विज्ञप्ति प्रकाशित गरी निन्दा गरेका छन्।
एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष पोमूले आन्दोलनका थप कार्यक्रम र रणनीति तयार गर्न आन्तरिक छलफल सुरु गरिएको जानकारी दिए।
प्रकाशित: १५ चैत्र २०८२ १२:११ आइतबार





