नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालका राष्ट्रिय हितसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।
उनले प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको मित्रता प्रगाढ बनाउने वा सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेजस्ता अमूर्त उद्देश्यका लागि मात्र आवश्यक नभएको बताउँदै यस्तो सुझाव दिएका हुन्।
रिजालले नेपाल र भारतबीच लामो समयदेखि थाँती रहेका विभिन्न मुद्दाको समाधानबाटै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने उल्लेख गरेका छन्। सबै विषय एकैपटक समाधान नहुने भए पनि नेपालले आफ्ना राष्ट्रिय हितका विषय वार्तामा उठाउन छाड्दा ती मुद्दा नै त्यागेको अर्थ लाग्न सक्ने उनको भनाइ छ।
उनले प्रधानमन्त्रीले विदेश भ्रमणमा जाँदा संसद्मा प्रतिनिधित्व गर्ने दल, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरूको सुझाव लिनुपर्ने पनि सुझाव दिए।
प्रधानमन्त्रीले देशको प्रतिनिधित्व गर्ने भएकाले सबै दलको शुभेच्छा र सल्लाह लिएर भ्रमणमा जाँदा सरकार कमजोर नभई थप बलियो हुने रिजालको तर्क छ।
उनले प्रधानमन्त्री शाहमा सामान्य लोकतान्त्रिक चरित्र, सामूहिक भावना र संस्थागत कार्यशैलीको अभाव रहेको टिप्पणीसमेत गरेका छन्।
एउटा राजनीतिक दलको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदासमेत के गर्ने र के नगर्ने भनेर सल्लाह तथा निर्देशन दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले देशका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भने राजनीतिक दल, पूर्वप्रधानमन्त्री र विज्ञहरूको सुझाव आवश्यक नठानिएको भन्दै प्रश्न उठाएका छन्।
रिजालले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् र राष्ट्रिय हितका पक्षमा उपयोगी बनोस् भन्दै शुभकामनासमेत दिएका छन्।
प्रकाशित: १ मंसिर २०८३ ०७:२१ मंगलबार





