कांग्रेस ताप्लेजुङले प्रतिनिधिसभाका लागि गरेको एकल सिफारिसप्रति दुई महिला नेतृले आपत्ति उठाएका छन्। विघटित प्रतिनिधिसभा सदस्य तथा पूर्व जिल्ला सभापति लिलादेवी बोखिम र नेतृ गीताकुमारी सेन्दाङले आफूहरूलाई उक्त निर्णय स्वीकार्य नभएको बताएका छन्।
बोखिमले उक्त सिफारिसलाई ‘कोठा थुनेर जबरजस्त ढंगले गरिएको’आरोप लगाएकी छन् भने सेन्दाङले आफूले प्रतिनिधिसभाका लागि समानुपातिक सूचीको माग गरेको आफूले इच्छा चाहना गर्दै नगरेको राष्ट्रियसभामा सिफारिस गरेर एकलौटी गरिएको भनेकी छन्। लिङदेनले चार जनाको कम्पनी हो कांग्रेस ? भनेर प्रश्न समेत गरेकी छन्।
बोखिम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस हुन चाहन्थिन्। नेपाली कांग्रेस ताप्लेजुङले शुक्रवार अपराह्न पत्रकार सम्मेलनमार्फत प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस निर्णय सार्वजनिक गरेको थियो। जिल्ला प्रवक्ता विश्वराव नाल्बो लिम्बूका अनुसार आकाँक्षीमध्येबाट सहमतिमा तुम्याहाङको एकल नाम सिफारिस भएको हो।
ताप्लेजुङमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र हो। नाल्वोका अनुसार समानुपातिकतर्फ खुल्लामा कोशी प्रदेशका पूर्व मन्त्री प्रतापप्रकाश हाङगााम र पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल तथा महिलातर्फ कल्पनादेवी सिटौलाको नाम सिफारिस गरिएको छ। राष्ट्रियसभातर्फ क्लष्टर अनुसार १० जनाको नाम सिफारिस गरिएको छ।
हाङगामका अनुसार राष्ट्रियसभामा खुल्लातर्फ मणि लामा, पदमसुन्दर पालुङ्वा,मातृकाप्रसाद शेर्पा,गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङ तथा अपाङ्गता भएका व्यक्तितर्फ तिलप्रसाद सुब्बाको नाम सिफारिस गरिएको छ। महिलातर्फ लिलादेवी बोखिम, मातृकादेवी प्रसाँई कार्की, गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको प्रवक्ता नाल्वोले बताए।
प्रकाशित: २७ मंसिर २०८२ १२:५९ शनिबार





