नेपालको राजनीति यतिबेला सरकारका निर्णयभन्दा बढी प्रतिपक्षी दलहरूको आन्तरिक गतिविधिका कारण बढी चर्चामा छ। संसद् बाहिर र दलभित्र भइरहेका गतिविधिहरूले एउटा स्पष्ट संकेत गरिरहेका छन्, देशका प्रमुख प्रतिपक्षी शक्तिहरू आगामी राजनीतिक पुनर्संरचनाको तयारीमा छन्।
एउटा पक्षमा नेपाली कांग्रेसभित्र नेतृत्व र शक्ति सन्तुलनको सङ्घर्ष चर्किएको छ भने अर्को पक्षमा विभाजित वामपन्थी शक्तिहरू फेरि नजिकिने प्रयासमा देखिएका छन्।
पछिल्ला केही हप्ताका राजनीतिक गतिविधि नियाल्दा लाग्छ, नेपाली राजनीति फेरि एउटा नयाँ ध्रुवीकरणतर्फ उन्मुख हुँदैछ।
कांग्रेसभित्र बढ्दो अन्तरसंघर्ष
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला बाहिरबाट संगठित देखिए पनि पार्टीभित्रको शक्ति संघर्षले गहिरो खाडलमा फस्दैछ। सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबिच राजनीतिक दूरी बढिरहेको छ भने छुट्टाछुट्टै भेला/बैठकले कांग्रेसभित्रको जीवनक कमजोर बन्दै गएको आभास हुन्छ।
पार्टीभित्र संस्थापन पक्ष र नयाँ पुस्ताको नेतृत्वबीच लामो समयदेखि चलिरहेको असन्तुष्टि अहिले खुला रूपमा देखिन थालेको छ। फरक-फरक स्थानमा भएका छुट्टाछुट्टै भेला, समानान्तर छलफल र नेताहरूका सार्वजनिक अभिव्यक्तिले कांग्रेसभित्र दुई स्पष्ट शक्ति केन्द्र बनेको संकेत दिएका छन्।
सभापति थापा पछिल्लो समय पार्टीमा संरचनात्मक सुधार, पुस्तान्तरण र वैकल्पिक राजनीतिक नेतृत्वको बहसलाई अगाडि बढाइरहेका छन्। उता देउवा पक्ष परम्परागत संगठन संरचना र स्थापित शक्ति समीकरण जोगाउने रणनीतिमा देखिन्छ।
कांग्रेसभित्रको यो टकराव अब सामान्य गुटगत प्रतिस्पर्धा मात्र रहेन। यो पुरानो पुस्ताले बनाएको राजनीतिक संरचना र नयाँ पुस्ताले खोजिरहेको परिवर्तनबीचको सङ्घर्ष पनि हो।
आगामी महाधिवेशन नजिकिँदै जाँदा यो विवाद अझ बढी गहिरो बन्ने संकेत स्पष्ट छ। विशेष महाधिवेशनबाट सभापति चुनिएका थापा र उनको समूहलाई भित्रैबाट स्वीकार गर्न नसक्दा देउवा पक्ष गाउँगाउँमा आफ्नो अस्तित्व टिकाइराख्न टेको खोज्न बाध्य भएको छ।
मदन भण्डारी जन्मजयन्तीमा वाम राजनीतिमा नयाँ सन्देश
उता वामपन्थी राजनीतिमा भने फरक दृश्य देखिन थालेको छ। विगतमा तीव्र प्रतिस्पर्धामा रहेका शक्तिहरूबीच फेरि संवाद बढ्न थालेको संकेत पछिल्ला गतिविधिले दिएका छन्।
विशेषगरी मदन भण्डारीको जन्मजयन्तीमा देखिएको जमघटलाई लिएर राजनीतिक वृत्तमा टीकाटिप्पणी सुरु भएका छन्। कार्यक्रममा एमाले र नेकपाका नेताहरूले सार्वजनिक रूपमा वामपन्थी शक्तिहरूबीच सहकार्य, साझा उद्देश्य र वैचारिक एकताको आवश्यकता औंल्याए।
नेपालको वाम आन्दोलन विखण्डित हुँदा त्यसको राजनीतिक लाभ अन्य शक्तिले उठाएको निष्कर्ष दुवै धारका नेताहरूले व्यक्त गरिरहेका छन्। यही क्रममा एमाले र नेकपाबीच सम्बन्ध सुधार र दीर्घकालीन सहकार्यको बहस पुनः सुरु भएको बुझ्न सकिन्छ।
राजनीतिक वृत्तमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वामपन्थी शक्तिहरूलाई जोड्ने साझा अनुहारका रूपमा अघि सार्नेबारे समेत चर्चा भइरहेको छ। मदन भण्डारीको जन्मजयन्तीमा पनि भण्डारी धर्मपत्नी विद्या पानी बाराबारको अवस्थामा रहेका दुई दलका शीर्ष नेताहरूलाई मिलाउने मध्यमार्गीका रूपमा देखिएकी थिइन्। यद्यपि कुनै औपचारिक घोषणा भएको छैन, तर भइरहेका संवादहरूले वाम एकताको सम्भावनालाई फेरि जीवित बनाएका छन्।
प्रतिपक्षी दलहरू किन पुनर्संरचनामा ?
नेपालको राजनीति अहिले संक्रमणको अर्को चरणमा छ। सत्तारूढ समीकरण स्थिर देखिए पनि प्रतिपक्षी दलहरू भने भविष्यको शक्ति सन्तुलनका लागि आफ्ना संगठनात्मक आधार पुनः परिभाषित गर्न खोजिरहेका छन्।
कांग्रेसभित्र नेतृत्वको बहस केवल व्यक्तिबीचको प्रतिस्पर्धा होइन, आगामी दशकको नेतृत्व कसले गर्ने भन्ने प्रश्नसँग जोडिएको छ। यदि पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन हुन सकेन भने कांग्रेसमा औपचारिक विभाजन नभए पनि गम्भीर ध्रुवीकरण हुन सक्छ।
उता एमाले र नेकपाबीच विगतको तिक्तता कम गरेर साझा राजनीतिक यात्रा सुरु गर्ने प्रयास सफल भयो भने नेपाली राजनीतिमा वाम ध्रुव फेरि बलियो बन्न सक्छ।
विचारभन्दा समीकरणको राजनीति
नेपालका राजनीतिक दलहरूमा पछिल्लो समय एउटा प्रवृत्ति स्पष्ट देखिन्छ: वैचारिक बहसभन्दा रणनीतिक समीकरणलाई प्राथमिकता दिने।
कहिले एकअर्काका कटु आलोचक बनेका दलहरू परिस्थिति अनुसार सहकार्यको बाटोमा जान्छन्। एउटै दलभित्रका नेताहरू पनि सार्वजनिक रूपमा फरक राजनीतिक लाइनमा उभिन्छन्। यसले राजनीतिक अस्थिरता बढाउने जोखिम पनि सँगै ल्याइरहेको छ।
राजनीतिक दलहरू अहिले केवल रास्वपा नेतृत्वको वर्तमान सरकारको विरोधमा केन्द्रित छैनन्, बरु आगामी निर्वाचन, शक्ति सन्तुलन र नयाँ गठबन्धनको सम्भावित खाका बनाउन लागिरहेका पो छन् कि भन्ने संकेत पनि देखिन्छ।
अबको राजनीतिक प्रश्न
आगामी महिनामा नेपालको राजनीतिमा सबैभन्दा चासोको विषय हुनेछन्: कांग्रेसभित्रको शक्ति सङ्घर्ष कहाँ पुग्छ ? गगन थापा र देउवा पक्षबिच समझदारी हुन्छ कि विभाजन गहिरिन्छ ? एमाले–नेकपाबीचको संवाद रणनीतिक सहकार्यमा सीमित रहन्छ कि औपचारिक एकतासम्म पुग्छ ?
अहिले देखिएको राजनीतिक गतिविधिले एउटा कुरा भने स्पष्ट बनाएको छ- नेपालको प्रतिपक्षी राजनीति सतहमा शान्त देखिए पनि भित्रभित्रै ठूलो पुनर्संरचनाको तयारीमा छ।
सायद, आगामी चुनावअघि देशले फेरि नयाँ राजनीतिक ध्रुवीकरण देख्न सक्छ। र त्यो ध्रुवीकरणको सुरुवात अहिले प्रतिपक्षी दलभित्र देखिएका यी गतिविधिबाट नै भइरहेको छ।
प्रकाशित: १६ असार २०८३ १६:०३ मंगलबार





