३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

तिब्बत भ्रमण सकेर स्वदेश फर्किए गण्डकीका मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ते तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष प्रवेशको अवसरमा चीनको स्वशासित प्रान्त तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री सोमबार स्वदेश फर्किएका हुन् ।

भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ झुङजनसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गर्नका लागि सहकार्यको प्रस्ताव गरेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भेटमा मुख्यमन्त्री पाण्डेले दुई देशबिचको व्यापार, पर्यटन प्रवर्द्धनका लागि सहकार्यको प्रस्ताव गर्नुभयो ।’

सो अवसरमा मुख्यमन्त्री पाण्डेले तिब्बतको नाका भएर मानसरोवर जाने नेपाली र विदेशी यात्रीहरूको यात्रा सहजीकरण गर्ने, चीनका सहरहरूबाट काठमाडौँ र पोखरा दुबैतर्फ सीधा उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबिच लगानी र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सम्बन्ध कायम राख्दै विस्तार गर्ने, नेपाल र चिनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने, पोखराबाट ल्हासा आउने पर्यटकको भिसा र प्रवेश पास उपलब्धतामा सहजीकरण र सहकार्य गर्ने गराउने विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरी आचार्यले जानकारी दिए ।

भेटमा मुख्यमन्त्री पाण्डेले विभिन्न समयमा चीन सरकारले अनुदान र सहयोग गरेको र सो कारण पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्द्धनमासमेत टेवा पुगेको बताए । यसले तिब्बत र गण्डकी प्रदेश सरकारबिचको सम्बन्धमा थप सुदृढ हुने उनले आशा व्यक्त गरे ।

सो अवसरमा सिपिसीका महासचिव वाङ झुङजनले कोरला नाका व्यवस्थित गर्न सके दुई सरकारबिच सहकार्यको अवसर बन्न सक्ने बताए । यसका लागि तिब्बत सरकार सकारात्मक रहेको झुङजनले बताए भनी मुख्यमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । उनका अनुसार अन्य धेरै कार्यमा सहकार्य र सहयोग गर्न तिब्बत सरकार तयार रहेको पनि पाण्डेको भनाई छ ।

तिब्बत भ्रमणका क्रममा सिपिसीका लिञ्जी नगर समितिका पार्टी सचिव आओ लिउक्वान र सो नगरका मेयर बाटासँग पनि मुख्यमन्त्री पाण्डेले भेटवार्ता गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले नेपालको पर्यटन राजधानी पोखरासँग लिन्जी सहरले गर्दै आएको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए । भेटमा दुई सहरबिच पर्यटन, खेलकुद, व्यापार लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

प्रकाशित: १२ श्रावण २०८२ १८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App