२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

रास्वपालाई भोट हाल्नेहरू आज सबैभन्दा बढी असुरक्षित र आतङ्कित छन्: लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ पार्टीलाई मतदान गर्ने सर्वसाधारणहरू नै आज सबैभन्दा बढी असुरक्षित र आतङ्कित बनेको दाबी गरेका छन्।

शनिबार आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले विगत ३५ वर्ष सत्ता चलाएका दलहरूप्रतिको आक्रोश र नयाँ शक्तिप्रतिको आशाका कारण जनताले नयाँलाई रोजे पनि नयाँ सरकार गठन भएको छोटो समयमै मुलुक घोर निराशाको बादलमा फसेको टिप्पणी गरे।

मुलुकमा महँगी र कृत्रिम अभाव चरम सीमामा पुगेको उल्लेख गर्दै उनले भने, ‘दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र बालबच्चाको भविष्य सुरक्षित देख्ने परिकल्पनाका साथ नयाँलाई भोट दिएका आम सर्वसाधारण आज सबभन्दा बेसी असुरक्षित र आतङ्कित भएका छन्। निजी क्षेत्र निराश छ, मुलुक भू-राजनीतिको गम्भीर चक्रव्यूहमा फस्दा पनि कसैले बोल्न सकेका छैनन्।’

यस्तो विषम परिस्थितिमा देश र आम जनताको रक्षाका लागि ‘हामी छौं, राप्रपा छ’ भनेर उभिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उनले बताए।

देशलाई सङ्कटबाट मुक्त गराउन राप्रपा नयाँ सोच र दृष्टिकोणका साथ बलियो भएर जनताको माझमा आउनुपर्ने बताउँदै उनले जारी अधिवेशनहरूलाई सोही तयारीका रूपमा उपयोग गर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरे।

प्रकाशित: २३ श्रावण २०८३ १६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App