६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौंबाट उडे प्रधानमन्त्री बालेन: न्यूयोर्क पुग्नासाथ कूटनीतिक ब्रिफिङ, भोलिपल्टै महासभामा सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन्।

मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्यूयोर्कतर्फ उडेका प्रधानमन्त्री शाहको पाँचदिने भ्रमण कार्यतालिका राष्ट्रसङ्घका महासचिवसँगको भेटवार्ता र महासभा सम्बोधनमा केन्द्रित रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार साँझ ७ बजे काठमाडौंबाट उडेका प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछन्।

त्यहाँ केही समय विश्राम गरी उनी बुधबार न्यूयोर्कतर्फ प्रस्थान गर्नेछन्।

न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि तथा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत लगायतका अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।

न्यूयोर्क ओर्लिएलगत्तै प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग पुग्नेछन्। त्यहाँ उनलाई भ्रमणको समग्र एजेन्डाबारे परराष्ट्र सचिव, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि कार्यवाहक राजदूत र न्यूयोर्कस्थित महावाणिज्यदूतले संयुक्त रूपमा ब्रिफिङ गर्नेछन्। ब्रिफिङपछि उनी आफ्नो सम्मानमा आयोजना हुने रात्रिभोज तथा स्वागत समारोहमा सहभागी हुनेछन्।

भ्रमणको सबैभन्दा महत्त्वपूर्ण दिन असोज ८ गते रहनेछ। सो दिन प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

महासचिवसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले राष्ट्रसङ्घको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ।

महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री शाह असोज ९ गते न्यूयोर्कबाट दोहा फर्कनेछन्। दोहामा ट्रान्जिट र कूटनीतिक बिदाइपछि उनी यही असोज १० गते काठमाडौं आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०८३ १९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App