राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नयाँ नेतृत्व र नयाँ शैली खोजेको बताएका छन् ।
चितवनमा रास्वपाको पहिलो महाधिवेशनको उद्घाटनसत्रमा उनले जनमत पार्टीका अध्यक्ष सिके राउतको भनाइमा जोड दिँदै जनताले धेरै अपेक्षासहित मतदान गरेको बताएका छन् ।
पछिल्लो निर्वाचन परिणामले जनताले वैकल्पिक राजनीतिक शक्तिलाई अवसर दिएको टिप्पणी गर्दै जनताका अपेक्षा यो पार्टीले पूरा गर्नुपर्ने पनि बताए ।
सम्बोधनका क्रममा लिङ्देनले निर्वाचनको सन्दर्भ उल्लेख गर्दै भने, ‘अघि सिके राउतजीले पनि जनमतको धेरै मत रास्वपामा आएको छ भन्नु भएको छ । म पनि भन्छु राजा ल्याउँछन् भनेर धेरै जनताले बालेनलाई भोट हालेका छन् ।’ उनले यसलाई जनताको स्थापित दलप्रतिको निराशा र परिवर्तनको अपेक्षासँग जोडेर व्याख्या गरे।
उनले नेपाली राजनीतिक प्रणालीप्रति नागरिकको बढ्दो असन्तुष्टि रहेको दाबी गर्दै जनताले नयाँ नेतृत्व र नयाँ शैलीको खोजी गरिरहेको बताए। जनमतलाई सम्मान गर्दै राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसके वैकल्पिक शक्तिको उदय अझ बलियो हुने उनको भनाइ थियो।
लिङ्देनले आफ्नो पार्टीले पनि शासन प्रणाली, सुशासन र राजनीतिक उत्तरदायित्वका विषयमा बहस अघि बढाइरहेको उल्लेख गर्दै राजनीतिक प्रतिस्पर्धा जनविश्वास जित्ने माध्यम हुनुपर्ने बताए।
प्रकाशित: ७ असार २०८३ १६:४७ आइतबार




-600x400.jpg)
