नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तत्काल कुनै पनि वामपन्थी दलसँग पार्टी एकीकरणको सम्भावना नरहेको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले आगामी स्थानीय तहको निर्वाचन अध्यक्ष केपी ओलीकै नेतृत्वमा लड्ने बताए।
नेकपा संयोजक पुष्पकमल दाहालले सहकार्य र एकीकरणका लागि गरेको सार्वजनिक अपिलमाथि बोल्दै ज्ञवालीले दाहाल छिटो मिल्न खोज्ने र छिटो विभाजित हुने नेता भएको आरोप लगाए।
‘उनी असाध्यै छिटो मिलौं पनि भन्छन्, असाध्यै छिटो विभाजित पनि गर्छन्,’ ज्ञवालीले भने, ‘अहिले हामी सहकार्यभन्दा पर सोचिरहेका छैनौं र एकताका लागि हतारो गर्ने पक्षमा पनि छैनौं।’
यद्यपि, सहकार्य गर्दै जाँदा तल्लो तहबाट जग बलियो बन्दै गए भविष्यमा एउटै कम्युनिस्ट पार्टी बन्ने सम्भावनालाई नीतिगत रूपमा नकार्न नसकिने उनले बताए।
हालका लागि भने संविधान, लोकतन्त्र, राष्ट्रिय हित, कम्युनिस्ट आन्दोलन र जनताको जीविकाको रक्षाका लागि मुद्दामा आधारित सहकार्य नै एमालेको प्राथमिकता रहेको उनको भनाइ छ।
ज्ञवालीले यस्तो मुद्दागत सहकार्य नेकपासँग मात्र नभई कतिपय सन्दर्भमा नेपाली कांग्रेस, अन्य दल, देशभक्त नागरिक र नागरिक समाजसँग समेत हुने बताए।
असोजमा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकले यही निर्णय गरेको र बुधबारबाट सुरु राष्ट्रिय भेलामा पारित हुने प्रस्तावमा समेत त्यो विषय समेटिने उनले जानकारी दिए।
एमाले पूर्वअध्यक्ष झलनाथ खनालले ‘एमाले छोड्नु ठूलो गल्ती भयो’ भनी दिएको अभिव्यक्तिको प्रसंगमा ज्ञवालीले पार्टी छोडेर गएका साथीहरूलाई स्वागत गर्न एमाले सधैँ तत्पर रहेको बताए।
तर, उनीहरू बाहिरिएपछि एमाले धक्का चिर्दै आफ्नै ढंगले अघि बढिसकेकाले फर्किएपछि नेतृत्व र नीतिका विषयमा अनावश्यक किचलो गर्न नहुने सर्त उनले अघि सारे।
‘महाधिवेशनका बेला हुने छलफल एउटा कुरा हो, तर अहिले एमालेको नीति, नेतृत्व र समग्र आन्दोलनलाई स्वीकार गरेर आउने सबै साथीहरूलाई स्वागत छ,’ ज्ञवालीले भने। यद्यपि, उनीहरूसँग तत्काल पार्टी एकीकरणको सम्भावना भने नरहेको उनले दोहोर्याए।
२०७९ को निर्वाचनमा प्रतिकूलताका बीच पनि समग्र कम्युनिस्ट आन्दोलनको लोकप्रिय मत ४३-४४ प्रतिशत रहेकोमा फागुन २१ को निर्वाचनपछि सबै कम्युनिस्ट पार्टीको मत जोड्दा २२-२३ प्रतिशतमा सीमित भएको र एमाले एक्लै २८ बाट १४-१५ प्रतिशतमा झरेको ज्ञवालीले उल्लेख गरे।
यो संकटका बेला पार्टीको आन्तरिक एकता र सही नीति नै सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ। आगामी चैत वा ढिलोमा वैशाखसम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनसक्ने आकलन गर्दै ज्ञवालीले राष्ट्रिय भेलामार्फत सिंगो पार्टी पंक्तिलाई चुनावमा केन्द्रित गर्न लागिएको बताए।
एमाले पाँच वर्षसम्म धैर्यपूर्वक संगठन बलियो बनाएर चुनावबाटै सत्तामा आउने पक्षमा रहेको उल्लेख गर्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा आगामी स्थानीय निर्वाचनमा सकेसम्म राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गरे।
प्रकाशित: ३ मंसिर २०८३ १९:३३ बिहीबार

