३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिमा निषेध, फुट, द्वन्द्व र प्रतिशोधको स्थान हुनु हुँदैन: पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा निषेध, फुट, द्वन्द्व र प्रतिशोधको भावना राख्न नहुने बताएका छन्।

नयाँ वर्ष २०८३ सालको अवसरमा एक भिडियो शुभकामना जारी गर्दै पूर्वराजा शाहले जनचाहनालाई मनन गरी देशलाई केन्द्रमा राखेर अघि बढ्न सरोकारवालाहरूलाई आग्रह गरेका हुन्।

‘निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौं,’ उनले भनेका छन्, ‘परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन।’

पूर्वराजा शाहले संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षका मागलाई सम्बोधन गरी संवैधानिक समाधान खोज्न विलम्ब गर्न नहुनेमा जोड दिए।

विगतका वर्षहरूमा निरन्तर विकल्पको खोजी र अभ्यास मात्र गर्दा देश प्रयोगशालामा सीमित भएको उनको टिप्पणी छ। राजनीति र राज्य पद्धतिमा धेरै हेरफेर गरिए पनि ती केवल कोरा परिवर्तन मात्रै साबित भएको र राष्ट्रको श्रीवृद्धिमा देश निकै पछाडि परेको उनले बताएका छन्।

देश अहिले चौतर्फी समस्याको चाङमा रहेको सुनाउँदै उनले अर्थतन्त्र उकास्न र छिमेकी मित्रशक्तिहरूसँगको सद्भाव बढाउन राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए।

‘आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ,’ उनले भनेका छन्, ‘नयाँ वर्षमा जिउधनको सुरक्षा र जीवन जिउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु आवश्यक देखिन्छ।’ 

प्रकाशित: ३० चैत्र २०८२ १७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App