२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकार र सभामुखको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि छ : सांसद राई

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार र सभामुखको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। उनले प्रतिपक्षको आवाज नसुनी सत्तापक्ष अगाडि बढेको भन्दै संसद्को ध्यानाकर्षण समेत गराए।

सांसद राईले प्रधानमन्त्रीको विवादास्पद वक्तव्य सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित सदनमा विरोध जनाइरहेको स्मरण गराए।

प्रधानमन्त्रीले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखलाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनुवाइ नभएकोमा उनले आपत्ति जनाए।

उनले भने, 'प्रतिपक्ष बोलिरहने, सत्तापक्ष सुनिरहने। हामी प्रधानमन्त्रीको वक्तव्य सच्याउनुपर्छ भनेको १६ दिन भइसकेको छ। कसैले नसुन्ने। जिम्मेवारी मान्छे बन्नुस्।'

साथै, उनले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गरे। उनले भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाइएको भनिएको सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरे।

प्रकाशित: ५ असार २०८३ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App