२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

रवि जी'लाई डेढ-दुई करोड जुटाउन शुभचिन्तकको कमी छैन: वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको धरौटीका लागि आवश्यक रकम जुटाउन पारिवारिक स्रोत र शुभचिन्तकहरूको ठूलो साथ रहेको बताएका छन्।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले २ करोड ७४ लाख रुपैयाँभन्दा बढीको बैंक ग्यारेन्टी बुझाएपछि त्यसको स्रोतबारे उठेको प्रश्नमा वागलेले उक्त स्पष्टीकरण दिएका हुन्।

सञ्चारकर्मीसँग कुरा गर्दै डा. वागलेले भने, ‘यो उहाँको (रवि लामिछानेको) व्यक्तिगत विषय हो, पार्टीले यति ठूलो रकम सहयोग गर्न सकेको छैन। यो रकम उहाँको पारिवारिक स्रोत र शुभचिन्तकहरूबाट जुटेको हो।’

उनले रकमको स्रोतबारे थप प्रष्ट्याउँदै भने, ‘उहाँको आफ्नै बहिनीले जग्गा बेचेर राख्नुभएको, श्रीमती निकिताजीमार्फत र अनगिन्ती शुभचिन्तकहरूबाट सहयोग जुटिरहेको छ। तपाईंहरूले चितवनमा जनताले लालपुर्जाको मुठै ल्याएको देख्नुभयो होला। त्यसैले रवि लामिछानेलाई डेढ-दुई करोड जुटाउन शुभचिन्तकको कमी छ जस्तो मलाई लाग्दैन।’

डा. वाग्लेले पार्टीले भने यस्ता कानुनी लडाइँका लागि औपचारिक रूपमा ‘कानुनी प्रतिरक्षा कोष’ स्थापना गरेको जानकारी दिए। ‘आज रविजीलाई पर्‍यो, भोलि अरू नेतालाई पर्न सक्छ। त्यसैले हामीले यसलाई औपचारिकता दिएर स्वैच्छिक योगदानका लागि कोष बनाएका छौं,’ उनले भने।

उनले लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानमा अहिलेसम्म ३२ लाखभन्दा बढी हस्ताक्षर संकलन भइसकेको र यो क्रम जारी रहेको बताए।

उनले यस अभियानलाई ‘जनताको आवाजलाई दस्तावेजीकरण’ गरेको भन्दै भने, ‘यो लोकतान्त्रिक स्पिरिटसँग जोडिएको विषय हो। जनताले तलैबाट यस्तो जवाफ दिइसकेपछि हामीले थप प्रतिवाद गर्न नपर्ने अवस्था बनेको छ।’

सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका सभापति लामिछानेले आफूमाथि लगाइएको अभियोग बराबरको बैंक ग्यारेन्टी रुपन्देही जिल्ला अदालतमा बुझाउँदै थुना बाहिरबाटै मुद्दाको सामना गर्न पाउनुपर्ने मागसहित निवेदन दिएका थिए।

प्रकाशित: २४ श्रावण २०८२ १७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App