नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता केवल केही व्यक्तिहरू थुप्रिने प्रक्रिया नभई समग्र कम्युनिस्ट आन्दोलनको वैचारिक रूपान्तरण र पुनर्गठनको प्रस्थानबिन्दु हुनुपर्ने बताएका छन्।
मंगलबार माओवादी केन्द्रको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बन्ने एकीकृत पार्टीको मिशन र उद्देश्यमाथि प्रकाश पारेका हुन्।
नेता श्रेष्ठले नौ वटा पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ सिराबाट एकीकरण र पुनर्गठनका लागि सहमति जनाइसकेको जानकारी दिए।
‘हाम्रो एकीकरण समग्र नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक रूपान्तरण, पुनर्गठनको प्रक्रियाको कोसेढुंगाको रुपमा काम गर्नुपर्छ, प्रस्थानबिन्दुको रूपमा काम गर्नुपर्छ,’ उनले भने।
उनले यो एकता राष्ट्रिय स्वाधीनता, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा रहेका सबै कम्युनिस्ट तथा वामपन्थी शक्तिलाई एउटै केन्द्रमा सामेल गर्ने बृहत् उद्देश्यबाट प्रेरित रहेको बताए।
एकताको उद्देश्य पद वा संख्या बढाउनु मात्र नभएकोमा जोड दिँदै श्रेष्ठले यो विचार, सिद्धान्त, राजनीति, विधि, पद्धति, संस्थागतता र सामूहिकतामा आधारित हुनुपर्ने बताए।
‘हामी एकताको निम्ति एकता, केही मान्छे थुपार्नको निम्ति एकता गर्दै छैनौं,’ उनले भने, ‘हाम्रो एकताले हाम्रो रणनीतिक लक्ष्यलाई, हाम्रो आदर्शलाई केन्द्रविन्दुमा राखेर, पार्टीलाई, कम्युनिस्ट आन्दोलनलाई रूपान्तरणसहित अगाडि बढाउनका निम्ति हामीले यो एकता गर्दैछौं।’
उनले हालै भएको जेन-जी आन्दोलनको चेतना र मुद्दाहरूलाई पनि नयाँ पार्टीले आत्मसात् गर्नुपर्ने बताए। ‘जेनजी आन्दोलन’ का मुद्दाहरूलाई सम्बोधन गर्दै युवा पुस्तालाई पार्टी पुननिर्माणको प्रक्रियामा सामेल गर्ने उद्देश्यसमेत एकताको रहेको उनको भनाइ थियो।
प्रकाशित: १८ कार्तिक २०८२ १९:२४ मंगलबार





