काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विगतमा जनप्रतिनिधिहरूबीच देखिएका अविश्वास र मतभेदहरू मन्थन भएर समाधान भएको बताएकी छन्।
आइतबार नगर सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले विगतका कमजोरी स्वीकार गर्दै अब महानगरको विकासका लागि सबै एकजुट भएको बताएकी हुन्।
स्थानीय सरकार सञ्चालन ऐनले तोकेको समयसीमाभन्दा ढिला गरी बजेट ल्याउनु परेकोमा महानगरवासी र सरोकारवालासँग क्षमायाचना गर्दै उनले भनिन्, ‘विगतका दिनमा हामीबीच केही अविश्वास र तिता-मिठा अनुभव प्रस्तुत भए, आरोप-प्रत्यारोप पनि भए, सबै कुरा मन्थन भयो। समस्याहरू समाधान पनि भए र आज हामी फेरि एकढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौं।’
उपप्रमुख डंगोलले ढिलै भए पनि बजेट ल्याउन सफल भएकोमा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिइन्।
‘हाम्रो सहयात्रा ३ वर्ष पुगिसकेको छ। जनताका अपेक्षाहरू धेरै छन्। अबका दिनमा हामी आफ्नो सामर्थ्यले भ्याएसम्म काम गर्ने प्रण यसै सभा मार्फत गर्न चाहान्छौं,’ उनले प्रतिबद्धता व्यक्त गर्दै भनिन्, ‘यसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावनासहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वास लिएकी छु।’
काठमाडौं टावरको नक्सा पास प्रकरणलाई लिएर मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच विवाद चुलिएपछि करिब ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन।
मेयर शाहले गुरागाईंको उपस्थितिमा बैठक नराख्ने अडान लिएका कारण स्थानीय सरकार सञ्चालन ऐनले तोकेको असार १० गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधान महानगरले गुमाएको थियो।
उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्षले मेयर शाहसँग गरेको निरन्तर छलफलपछि शुक्रबार मात्रै कार्यपालिका बैठक बसेको थियो।
प्रकाशित: २९ असार २०८२ १६:३२ आइतबार





