४ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

‘हिजो जनयुद्धको नेतृत्व गरेको टिम असक्षम भइसक्यो,म पनि अरु पनि’

नेपाली कम्युनिस्ट पार्टीका नेता (माओवादी आन्दोलन) जनार्दन शर्माले माओवादी आन्दोलनका एजेन्डा अझै बाँकी रहेकाले नयाँ पुस्ताले यसको पुनर्गठन र पुनर्जागरण गर्नुपर्ने बताएका छन्।   

मंगलबार आयोजित कार्यक्रममा बोल्दै शर्माले माओवादी आन्दोलनले अपेक्षित दिशा लिन नसक्दा देशमा प्रतिक्रान्ति भएको टिप्पणी गरे। उनले संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियता गम्भीर चुनौतीमा परेको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ ढंगले अघि बढ्नुपर्ने बताए। 

‘माओवादी आन्दोलनले त्यो दिशा लिन नसक्नु मुख्य समस्या हो। त्यसकै कारण देशमा प्रतिक्रान्ति भयो,’ उनले भने, ‘माओवादी आन्दोलनका एजेन्डा अहिले पनि बाँकी छन्। त्यसको आवश्यकता अहिले पनि छ। त्यसलाई पुनर्गठित गर्नुपर्छ।’ 

शर्माले पछिल्लो राजनीतिक परिस्थितिमा संविधान र लोकतन्त्रको भविष्यबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताए। उनले राष्ट्रियता कति जोखिममा छ भन्ने कुरा सबैले अनुभूत गरेको उल्लेख गर्दै संविधान र लोकतन्त्र कमजोर हुँदा समावेशितालगायतका उपलब्धि पनि संकटमा पर्न सक्ने बताए। 

उनले माओवादी आन्दोलनलाई नयाँ सिराबाट अघि बढाउन राजनीतिक सुझबुझ भएको नयाँ पुस्ता नेतृत्वमा आउनुपर्नेमा जोड दिए। आफूले आन्दोलनको पुनर्गठनमा सहयोग र योगदान गर्न तयार रहेको बताउँदै उनले नेतृत्व भने नयाँ पुस्ताले गर्नुपर्ने बताए। 

‘नयाँ पुस्ताले माओवादी आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ। यसको पुनर्जागरण गर्नुपर्छ। त्यसमा मैले आफ्नो तर्फबाट सहयोग र योगदान गर्न तयार छु। तर मेरो सर्त के छ भने नयाँ पुस्ता ल्याएर त्यसको नेतृत्व गर्नुपर्छ,’ शर्माले भने। 

उनले पुस्तान्तरणको बहस उमेरका आधारमा नभई नेतृत्वको क्षमता र विगतको कार्यसम्पादनका आधारमा हुनुपर्ने स्पष्ट पारे। जनयुद्ध लडेर आन्दोलनको नेतृत्व गरेको पुरानो पुस्ता अब सक्षम नरहेको स्वीकार गर्नुपर्ने उनको भनाइ थियो। 

‘हिजो जनयुद्ध लडेर त्यसको नेतृत्व गरेको टिम असक्षम भइसक्यो, म पनि र अरू पनि। यो भन्न सक्नुपर्छ,’ उनले भने।  

प्रकाशित: २७ आश्विन २०८३ १८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App