राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिएका छन्।
कानुन दिवस, २०८३ का अवसरमा शनिबार सर्वोच्च अदालतले यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताएका हुन्।
‘सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र स्थिति औजार र उपचार दुवै हुन् भनेर सम्झने र बुझ्ने पुनित दिनलाई नै कानुन दिवसका रुपमा मनाइन्छ’, राष्ट्रपति पौडेलले भने, ‘कानुन दिवसको यही मर्मलाई आत्मसात् गर्नसकेमात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ।’
राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको उल्लेख गरे।
साथै, उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरुप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आमनागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन गर्ने गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्यमान्यतामा क्षयीकरण हुन नदिइ न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस्।’
कार्यक्रममा कामु प्रधानन्यायाधीश सपनाप्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्यायसम्पादन गर्न सम्पूर्ण न्यायाधीशलाई आग्रह गरे। उनले आफूले न्यायका लागि लामो समयदेखि लड्दै आएको स्मरण गर्दै अझै न्यायको लडाईं बाँकी रहेको बताए।
संविधानको इमान्दारपूर्वक कार्यान्वयन गर्ने, विधिको शासनको पालना गर्ने र पालना गर्न कहीँ चुकेमा समीक्षा गर्ने दिन पनि कानुन दिवस नै भएकाले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे।
त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, संवैधानिक आयोगका प्रमुखहरु, कूटनीतिक नियोग तथा उच्चपदस्थ अधिकारीहरूको सहभागिता थियो।
नेपालको प्रधानन्यायालय ऐन, २००८ विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानुन दिवसका रुपमा मनाइँदै आएको छ।
प्रकाशित: २६ वैशाख २०८३ १७:२३ शनिबार





