२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

‘रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍यायो, कम्युनिस्ट मिल्दा हामी विभाजित भयौं’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसलाई भित्तामा पुर्‍याएको टिप्पणी गरेका छन्।

राष्ट्रिय सभागृहमा मंगलबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राठौरले बाह्य चुनौती चुलिँदा पनि कांग्रेस आन्तरिक कलहमै रुमल्लिएको भन्दै चिन्ता व्यक्त गरे।

‘स्वतन्त्र पार्टीले हामीलाई भित्तामा पुर्‍याएको अवस्था छ, कम्युनिस्टहरू मिल्दै छन्, तर यस्तो संकटको घडीमा पनि कांग्रेसभित्र दुईवटा अधिवेशन हुने विडम्बनापूर्ण अवस्था बन्यो,’ उनले भने।

बाह्य घेराबन्दीका बीच पार्टीको अस्तित्व जोगाउन आफू सभापति पदको प्रतिस्पर्धामा उत्रिएको दाबी गर्दै राठौरले निर्वाचित भए कांग्रेसलाई फेरि एक ढिक्का बनाउने प्रतिबद्धता जनाए।

निर्वाचन आयोग र सर्वोच्च अदालतले दिएको आधिकारिकतालाई टेकेर आफू रुख र चारतारे झन्डाको रक्षामा उभिएको उनको भनाइ थियो।

रास्वपा र कम्युनिस्टहरूको राजनीतिक चुनौती सामना गर्न पार्टीभित्र अनुशासन र शुद्धीकरण अनिवार्य रहेको उल्लेख गर्दै उनले आफ्नै पार्टी हराउन लाग्नेहरूविरुद्ध कदम चाल्ने चेतावनी दिए।

पार्टीको पद ओगटेर चुनावमा अन्तर्घात गर्ने केन्द्रीय सदस्य, जिल्ला तथा क्षेत्रीय सभापतिहरूलाई पार्टीबाट निष्कासन गरेर संगठनलाई बलियो बनाउने उनले बताए।

३५ वर्षसम्म साथ दिएका शीर्ष नेताहरूले आफूलाई मैदानमा एक्लै छाडे पनि आफू विचलित नभएको उल्लेख गर्दै राठौरले यसपटक जित्न नसके पनि आगामी १६औं महाधिवेशनलाई लक्षित गरी देशभर संगठन निर्माणमा होमिने बताए।

प्रकाशित: २० आश्विन २०८३ २१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App