कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकारको नेतृत्व चयन र निर्णय प्रक्रियामा संघीय नेतृत्वको हस्तक्षेप हुँदा प्रदेशमा राजनीतिक अस्थिरता बढ्दै गएको बताएका छन्।
इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले प्रदेश सरकारलाई आवश्यक निर्णय स्वायत्तता नदिँदा संघीयताको मर्म कमजोर बन्दै गएको बताए। प्रदेश सरकार गठनदेखि नेतृत्व परिवर्तनसम्मका निर्णय अझै पनि केन्द्रबाट हुने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
उनले प्रदेश सरकारलाई आफ्नै निर्णय गर्न सक्ने अधिकार नदिइँदा जनतामाझ सरकार आफ्नो खुट्टामा उभिन नसकेको सन्देश गएको बताए।
मन्त्री पराजुलीले कोशी प्रदेशको निर्णय कोशीकै नेतृत्वले र मधेश प्रदेशको निर्णय मधेशकै नेतृत्वले गर्न पाउनुपर्ने बताउँदै प्रदेश सरकारको आयु कहिले १५ दिन, कहिले एक महिना र कहिले एक वर्ष मात्रै हुने अवस्थाले दीर्घकालीन विकास योजना कार्यान्वयनमा गम्भीर असर परेको बताए।
प्रकाशित: १० श्रावण २०८३ १४:३६ आइतबार





