१७ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा बालेन्द्रको जीवनी, जन्ममिति र बुबाआमाको नाम उल्लेख छैन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को जीवनी आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री नियुक्त भएको करिब ६ महिनापछि सार्वजनिक गरिएको जीवनीमा उनको राजनीतिक, शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिसहित व्यक्तिगत जीवनबारे समेत विवरण समेटिएको छ।

तर जीवनीमा प्रधानमन्त्री शाहको जन्म मिति भने उल्लेख गरिएको छैन। त्यस्तै, व्यक्तिगत जीवनसम्बन्धी विवरणमा उनकी श्रीमती सबिना काफ्ले र एक छोरी रहेको उल्लेख भए पनि बुबाआमाको नाम भने समावेश गरिएको छैन।

जीवनीमा शाहले २७ मार्च २०२६ मा प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेको, त्यसअघि २०२२ देखि २०२५ सम्म काठमाडौं महानगरपालिकाको मेयरका रूपमा काम गरेको उल्लेख छ।

त्यस्तै, उनको शैक्षिक योग्यतामा भारतको कर्नाटकस्थित विश्वेश्वरैया टेक्नोलोजिकल विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर डिग्री तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेको विवरण राखिएको छ।

जीवनीमा शाहको संगीत यात्रासमेत उल्लेख छ। उनले सन् २०१२ मा ‘सडक बालक’ गीत सार्वजनिक गरेको तथा सन् २०१३ मा ‘रअ बार्ज’ र्‍याप ब्याटलमार्फत व्यापक पहिचान बनाएको उल्लेख गरिएको छ। उनले २५ भन्दा बढी गीत रचना गर्नुका साथै ‘आश्र’ नामक कविता संग्रह प्रकाशित गरेको विवरण पनि जीवनीमा समेटिएको छ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको जीवनीमा सरकारका प्राथमिकताका रूपमा शिक्षा सुधार, स्वास्थ्य सेवाको विस्तार, रोजगारी सिर्जना, आर्थिक वृद्धि, सुशासन तथा संस्थागत सुधार, सहरी विकास, वातावरणीय दिगोपना, व्यवसाय तथा उद्यमशीलताका लागि अनुकूल वातावरण र अन्तर्राष्ट्रिय संलग्नतालाई उल्लेख गरिएको छ।

प्रकाशित: १७ आश्विन २०८३ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App