२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीका विज्ञ सल्लाहकारहरू संयोजक र उपसंयोजकमा सीमित

प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा नियुक्त विभिन्न व्यक्तिहरूको जिम्मेवारी पुनःव्यवस्थित गरेका छन्। यसअघि विज्ञका रूपमा नियुक्त गरिएका व्यक्तिहरूलाई अब संयोजक तथा उपसंयोजकको जिम्मेवारी दिइएको छ।

नयाँ व्यवस्थाअनुसार इन्जिनियर सञ्जिब पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक बनाइएको छ। दीपा दाहाललाई अनुसन्धान विज्ञको जिम्मेवारीबाट हटाउँदै मिडिया व्यवस्थापन संयोजकको भूमिका दिइएको छ। विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक र सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजकको जिम्मेवारी तोकिएको छ।

प्रधानमन्त्रीको सचिवालयमा उपसचिवका रूपमा नियुक्त व्यक्तिहरूको जिम्मेवारीसमेत परिवर्तन गरिएको छ। प्रकृति ढकाललाई स्वास्थ्य समन्वय उपसंयोजक, सुमन गौतमलाई नागरिक उड्डयन समन्वय उपसंयोजक तथा रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय उपसंयोजक बनाइएको छ।

सचिवालयमा विज्ञका रूपमा नियुक्त व्यक्तिहरूको विज्ञता र भूमिकालाई लिएर विभिन्न मन्त्रालयका छलफलमा प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री शाहले यस्तो निर्णय लिएको बताइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरूको काममा ठूलो परिवर्तन नभए पनि पदअनुसारको जिम्मेवारी स्पष्ट बनाउन पदनाम परिवर्तन गरिएको हो। प्रधानमन्त्रीका सल्लाहकारहरूको जिम्मेवारी भने यथावत् राखिएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App