११ माघ २०८२ आइतबार
image/svg+xml
विचार

विद्रोहपछिको चुनावी चुनौती

२०८२ भदौ २४ को जेनजी आन्दोलनले नेपालमा उथलपुथल ल्याइदियो। छोटो समय चलेको आन्दोलनले तत्कालीन केपी शर्मा ओलीको सत्ता नै बढारिदियो।  त्यसपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भयो ।

जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थितिअनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ। जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन गरिएपछि नयाँ निर्वाचनको घोषणा गरिएको छ।

सरकार आगामी निर्वाचनको तयारीमा जुटेको छ। भ्रष्टाचार, बेरोजगारी, बेथिति र पर्यावरणीय संकटले घेरिएको यो देशमा युवाहरूको असन्तुष्टि अब सडकबाट संसद्सम्म पुग्नुपर्छ। आगामी चुनावमा युवा पार्टीहरूले जितेर मुलुकको नीतिमा सुधार र प्रभाव ल्याउन सके मात्र साँचो परिवर्तन सम्भव छ।

युवाले नेतृत्व गरेका पार्टीहरू र युवा केन्द्रित पार्टीले नेपालको राजनीतिलाई नयाँ दिशा दिन सक्छ। यस्ता पार्टीहरू परम्परागत दलहरूको उचित विकल्प बन्न सक्छन्। उनीहरूले युवाहरूको आवाजलाई प्रतिनिधित्व गर्दै, सुधारका लागि दबाब दिन सक्छन्। उनीहरूले भ्रष्टाचारविरुद्ध कडा कानुन, युवा रोजगारीका अवसरहरू, शासनमा प्रविधिको प्रयोग र प्रदूषण तथा जलवायु परिवर्तनविरुद्धका  मुद्दा र योजनाहरूलाई अगाडि बढाउन सक्छन्।

युवा पार्टीहरूको संसदीय उपस्थितिले नेपाललाई पारदर्शी र समावेशी शासनतर्फ डोर्‍याउन ठुलो मद्दत गर्न सक्छ। यो केवल चुनावी जित हुने छैन, यो एउटा क्रान्तिकारी परिवर्तनको सुरुवात हुनेछ, जसले युवाहरूलाई निर्णय प्रक्रियाको केन्द्रमा राख्नेछ। इन्डोनेसियाको रिफोर्मासी आन्दोलन वा ताइवानको सनफ्लावर मुभमेन्टजस्ता उदाहरणहरूले देखाउँछन् कि युवाहरूले कसरी पुरानो व्यवस्थालाई चुनौती दिँदै नयाँ युग सुरु गर्न सक्छन्।

नेपालमा पनि यस्तै सम्भावना छ, जहाँ युवाहरूले प्रविधिमैत्री कानुनहरू मार्फत शासनलाई आधुनिकीकरण गर्न सक्छन् र देशलाई समृद्धिको बाटोतर्फ उन्मुख बनाउन सक्छन्।

दशकौंदेखि एउटै अनुहारहरूले सत्ता कब्जा गरेका छन्, जसले भ्रष्टाचारलाई संस्थागत बनाएको छ। नेपालमा भ्रष्टाचार एक प्रमुख समस्याका रूपमा देखिएको छ। राज्यका हरेक निकायमा भ्रष्टाचारले जरा गाडेको छ। सार्वजनिक पदमा बस्नेले राष्ट्रिय स्रोतको दुरुपयोग गरेका छन्, जसले विकासलाई असर गरेको छ। यसले युवाहरूलाई राजनीतिबाट टाढा बनाएको छ, उनीहरूले आफ्नो भविष्य विदेशमा खोज्न बाध्य भएका छन्।

ब्रेन डे«नको यो समस्या चुलिँदै गएको छ। लाखौं युवा खाडी देशहरूमा पसिना बगाइरहेका छन्, जबकि घरेलु रोजगारीका अवसरहरू न्यून छन्। नेपालमा युवा बेरोजगारी पनि अर्को समस्या हो। एक तथ्यांकअनुसार नेपालमा १६–४० वर्ष उमेर समूहका युवा करिब एक करोड २४ लाख छन्, जुन कुल जनसंख्याको ४२.४ प्रतिशत हो, जसमध्ये बेरोजगार २०.८ प्रतिशत छन्।

नेपालको शासन प्रणाली र सरकारी काम पुरानो ढाँचामा चलेको छ। सरकारी कार्यालयमा हुने ढिलासुस्तीले नागरिकमा वितृष्णा पैदा गरेको छ। नेपालको जिडिपी वृद्धिदर एसियाली छिमेकीहरूभन्दा कम छ। चालु आर्थिक वर्ष (२०२६) मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण छ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेको हो। यसबाहेक प्रदूषण र जलवायु परिवर्तनजस्ता पर्यावरणीय चुनौती बढ्दै गएका छन्।

काठमाडौंको वायु प्रदूषण विश्वका खराबमध्ये एक छ र हिमाली क्षेत्रहरूमा हिउँ पग्लिने समस्या जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हो। युवाहरूले यी मुद्दाहरू उठाएका छन् तर उनीहरूको आवाज संसद्भित्र नपुगेसम्म परिवर्तन हुन् सक्दैन।

युवाहरू जनसंख्याको ठुलो हिस्सा भए पनि संसद्मा तिनीहरूको प्रतिनिधित्व न्यून छ। यसले गर्दा आधुनिक समस्याहरू सम्बोधन गर्न सक्दैन। परम्परागत पार्टीहरूमा पनि युवाको प्रतिनिधित्व र नेतृत्व निकै न्यून छ।

यदि युवा नेतृत्व पार्टी र नया पार्टीहरूले आगामी चुनावमा उचित सिटहरू जिते भने भ्रष्टाचारविरुद्ध कडा कानुनहरू लागु गर्न सक्छन्। उनीहरूले अख्तियार अनुसन्धान आयोगजस्ता सस्थालाई अझ मजबुत र पारदर्शी बनाउन सक्छन्। यसले सरकारी खर्चलाई पारदर्शी बनाउँछ र जवाफदेहिता बढाउँछ। युवा रोजगारीका लागि उनीहरूले विकास कार्यक्रमहरू र स्टार्टअप अनुदानहरू अगाडि बढाउन सक्छन्, जसले लाखौं युवालाई स्वदेशमै अवसर दिन्छ।

प्रविधिको प्रयोग अर्को महत्त्वपूर्ण कदम हो। ई–गभर्नेन्स मार्फत सरकारी सेवालाई छिटो र प्रभावकारी बनाउन सकिन्छ, जसले कागजी झन्झटलाई हटाउँछ। युवा पार्टीहरूले यसलाई प्राथमिकता दिँदै डिजिटल कानुनहरू बनाउन सक्छन्।

ताइवानको सनफ्लावर मुभमेन्टलाई हेर्नुहोस्, २०१४ मा विद्यार्थीहरूले संसद् कब्जा गरेर चीनसँगको व्यापार सम्झौताविरुद्ध विरोध गरे, जसले पारदर्शिता र लोकतान्त्रिक परिवर्तन ल्यायो। यसले ताइवानको राजनीतिलाई युवाकेन्द्रित बनायो, जसबाट नेपालले सिक्न सक्छ। युवाहरूले प्रविधिमैत्री कानुनहरूमार्फत शासनलाई आधुनिक बनाउन सक्छन्।

इन्डोनेसियाको रिफोर्मासी आन्दोलन पनि प्रेरणादायी छ। १९९८ मा विद्यार्थीहरूले जनरल सुहार्तोको ३० वर्षे शासनलाई ढाले, जसले लोकतान्त्रिक सुधारहरू ल्यायो र देशलाई आर्थिक समृद्धिको बाटोतर्फ अघि बढायो। नेपालका युवाहरूले पनि भ्रष्टाचारविरुद्ध लड्दै यस्तै गर्न सक्छन्।

यी सुधारहरूले नेपाललाई समृद्ध बनाउन सक्छन्। युवा पार्टीहरूले पर्यावरणीय मुद्दाहरूलाई मुख्य धारा बनाउँदै, जलवायु अनुकूलन कार्यक्रमहरू लागु गर्न सक्छन्। यसले प्रदूषित सहरहरूलाई सफा बनाउँछ र दिगो विकास सुनिश्चित गर्छ। ताइवान र इन्डोनेसियाका उदाहरणहरूले देखाउँछन् कि युवा आन्दोलनहरूले कसरी स्थायी परिवर्तन ल्याउँछन्।

नेपालमा पनि चुनावी सफलताले युवाहरूलाई नीति निर्माणमा सामेल गराउँछ, जसले देशलाई समावेसी र आर्थिक रूपमा मजबुत बनाउन सक्छ। वास्तवमा जेनजी आन्दोलनपछि हुन लागेको यो चुनाव नेपाली जनतालाई सही नेतृत्व चुन्ने र देशलाई विकासतर्फ अघि बढाउने एक सुनौलो अवसर पनि हो।

यद्यपि केही आलोचकहरू भन्छन् कि युवा पार्टीहरूमा अनुभवको कमी छ, जसले शासनलाई अस्थिर बनाउन सक्छ। परम्परागत दलहरूले पनि सुधार गर्न सक्छन् भन्ने तर्क छ। यो सत्य हो कि युवाहरूमा जोखिम छ, तर तिनीहरूको ऊर्जा र नवीन सोचले यसलाई सन्तुलित बनाउँछ। अनुभवहीनताले नयाँ दृष्टिकोण ल्याउँछ, जुन पुरानो व्यवस्थाले दिन सक्दैन।

युवा पार्टीहरूको चुनावी सफलता नेपालको साँचो जित हो। यसले सुधारका ढोका खोल्छ र युवाहरूलाई नेतृत्व दिन्छ।  अब युवा पार्टीहरूलाई समर्थन गरेर उनीहरूलाई चुनावमा जिताउने समय आएको छ। उनीहरूले  मात्र नेपाललाई उज्ज्वल भविष्यतर्फ डोर्‍याउन सक्छन्। यसले हाम्रो देशलाई पारदर्शी, समृद्ध र दिगो बनाउँछ। नेपालले यत्रो समय पुराना दल र तिनका नेतालाई अवसर दियो तर देशले सोचेजस्तो फट्को मर्न सकेन। अब देशको नेतृत्व नयाँ सोच र युवालाई दिने कि?

प्रकाशित: १३ पुस २०८२ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App