२७ भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

अहिले बामपन्थी भेटिने ठाउँ कि घाटमा हो श्राद्धमा हो : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका बामपन्थी दलहरूबीच एकता हुन नसकेको भन्दै वास्तविक धरातलमा उभिएर गुनासो गर्न छाड्नुपर्ने बताएका छन्। शुक्रबार एक कार्यक्रममा बोल्दै बास्कोटाले अहिले बामपन्थीहरूबीच एकता खोज्ने हो भने ‘घाट’ र ‘श्राद्ध’मा मात्र भेट हुने अवस्था आएको टिप्पणी गरे। 

‘अहिले बामपन्थी भेटिने ठाउँ कि घाटमा हो कि यस्तै श्राद्धमा हो। अनि कहाँ एकता देख्नुहुन्छ त बामपन्थीको ?’ उनले प्रश्न गरे।

बास्कोटाले पछिल्लो निर्वाचनमा बामपन्थी राजनीतिका आधारभूत पहिचानसमेत कमजोर बनेको बताए। ‘यो पल्टको निर्वाचनमा न जात रह्यो, न भात रह्यो, न वर्ग रह्यो, न क्षेत्र रह्यो। के चाहिँ रह्यो त बाँकी ? ’ उनले भने। 

उनले कम्युनिस्ट पार्टीहरू धेरै भए पनि उनीहरूको प्रभाव र जनआधार खुम्चिँदै गएको बताए। विभिन्न नाम र झण्डासहित धेरै कम्युनिस्ट पार्टी अस्तित्वमा रहे पनि एकता हुन नसक्दा जनतासमेत अलमलमा परेको उनको भनाइ थियो। 

‘कति वटा कम्युनिस्ट पार्टीका यहाँ बिल्ला राखेर पनि झण्डा एउटै छ, मान्छे झुक्क्या झुक्क्यै छन्,’ उनले भने, ‘जम्मै जोड्यो भने अहिले २० प्रतिशतमा झरेको छ।’ 

बास्कोटाले पुराना राजनीतिक उपलब्धि र इतिहासलाई मात्र आधार बनाएर अबको कम्युनिस्ट राजनीति चल्न नसक्ने बताए। बदलिँदो समाज र भूमण्डलीकरणले पारेको प्रभावअनुसार कम्युनिस्ट पार्टीहरूले आफूलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो । उनले अहिले जनताले नेता मात्र नयाँ नखोजेको  बताउँदै भने, ‘आज हामी कहाँ पुग्यौँ भने आफू कन्भिन्स गर्न पनि नसक्ने, आफ्ना गीत गाउन पनि छोड्न नसक्ने, पछाडि हट्न पनि नसक्ने, अगाडि बढ्न पनि नहुने।’  

उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पनि पुराना नेताहरू तयार हुनुपर्ने बताए। आफूहरू अब बुढो भइसकेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई जिम्मेवारी नदिएसम्म कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने धारणा राखे। 

‘हामी त बुढो भइसक्यौँ। तपाईंहरूले के सक्ने भन्न्यारु अब यो नयाँ पुस्ता भन्या छ, नयाँ पुस्तालाई दिँदा पनि नदिने खालको भयो,’ बास्कोटाले भने। उनले बामपन्थी एकताको कुरा केवल भावनाबाट नभई यथार्थ र वर्तमान चुनौतीका आधारमा अघि बढाउनुपर्नेमा जोड दिए। 

‘कि एकताको गीत गाउन छोडौँ कि भावना बन्धक राखौँ। कि यथार्थको जगमा उभिएर आजको चुनौती समाधान गर्न लागौँ,’ उनले भने। 

प्रकाशित: २७ भाद्र २०८३ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App