कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) नेता यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै पार्टी सुरक्षित हुने बताएका छन्।
सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित एमाले जिल्ला सचिवालयको बैठकमा उनले इतिहासमै पहिलोपटक भएको राजनीतिक असुरक्षाको स्थितिमा जनताको समर्थन नै पार्टी अस्तित्वको आधार हुने बताए। नेता कँडेलले भने, 'जनताको घर–घरमा पुगौँ। वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाऔँ। जनसमर्थनबाट दलहरूको बलियो बन्न सक्छन्।'
उनले हालको समय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय हुन आग्रह गरे। 'राजनीति भनेको जनसम्पर्क हो, जनता नै हाम्रो शक्ति हुन्। गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीको नीति, उद्देश्य र भविष्यको योजना जनतासामु पुर्योऔँ,' कँडेलको भनाइ थियो।
अबको राजनीतिक यात्रा सजिलो नभएको औँल्याउँदै मुख्यमन्त्री कँडेलले कमजोर राजनीतिक चेतनाले पलायन र निराशा बढ्ने तर्क गरे।
प्रकाशित: २८ आश्विन २०८२ ०९:११ मंगलबार





