२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पुराना पुस्तासँग चोट छन्, खत छन्, नयाँसँग समयको गति: एमाले

नेकपा एमालेले पार्टीमा पुस्तान्तरण अनिवार्य रहेको बताएको छ।

ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर जारी गरिएको ‘अन्तरपार्टी निर्देशन-३’ मा एमालेले रुपान्तरण, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई पार्टीको पुनर्जागरणसँग जोडेको छ।

एमालेले पुस्तान्तरणलाई पुस्ताबीचको युद्धका रूपमा लिन नहुने भन्दै नयाँ पुस्तालाई पार्टीको उत्तराधिकारीका रूपमा अघि बढाउनुपर्ने जनाएको छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उल्लेख गरेको छ।

अपानि-३ मा भनिएको छ, ‘पुस्तान्तरण अनिवार्य छ। कुनै पनि पार्टी एउटै पुस्ताको बलमा सधैं अघि बढ्न सक्दैन।’

पुरानो पुस्ताले संघर्ष, जेल, आन्दोलन, संगठन, विचार र बलिदानबाट पार्टीलाई यहाँसम्म ल्याएको उल्लेख गर्दै एमालेले नयाँ पुस्ताले पार्टीलाई नयाँ युगमा लैजानुपर्ने जनाएको छ। 

तर पुस्तान्तरणलाई ‘बा हटाऊ, छोरा ल्याऊ’ भन्ने भावनात्मक नाराका रूपमा बुझ्न नहुने एमालेले बताएको छ। पुस्तान्तरण भनेको पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने प्रक्रिया भएको उसको भनाइ छ।

‘पुरानो पुस्तासँग संघर्षका चोटहरू छन्, खतहरू छन् र तिनको स्मृति छ। नयाँ पुस्तासँग समयको गति छ। पुरानो पुस्तासँग विचारको गहिराइ छ। नयाँ पुस्तासँग भाषाको ताजापन छ। पुरानो पुस्तासँग संगठनको धैर्य छ। नयाँ पुस्तासँग प्रविधिको साहस छ,’ अपानि-३ मा भनिएको छ।

एमालेले नेतृत्व हस्तान्तरण विधिसम्मत, योजनाबद्ध र तयारीसहित हुनुपर्ने जनाएको छ। नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको भन्दै कुनै पनि नेतृत्व स्थायी नहुने उल्लेख गरिएको छ। 

नेतृत्व हस्तान्तरण हतारमा पार्टीको जिम्मेवारी कसैलाई सुम्पने विषय नभएको एमालेले जनाएको छ। नेतृत्व संघर्ष, जिम्मेवारी, जनताबीचको काम, संगठन सञ्चालन, आलोचना सहने क्षमता र पराजयबाट सिक्ने प्रक्रियाबाट तयार हुने उसको भनाइ छ।

एमालेले पुस्तान्तरणलाई घोषणामा मात्र सीमित नराखी प्रणालीमा बदल्नुपर्ने भन्दै प्रत्येक तहमा नेतृत्व विकासको योजना, युवा नेतृत्वलाई जिम्मेवारी, प्रशिक्षण, वैचारिक शिक्षा, जनसम्पर्क, स्थानीय समस्या समाधानको अभ्यास, डिजिटल सञ्चारको दक्षता र नीति निर्माणमा सहभागिताको अवसर दिनुपर्ने जनाएको छ।

साथै, महिला नेतृत्वलाई पनि पुस्तान्तरणसँग जोड्दै एमालेले महिलालाई निर्णायक भूमिकामा ल्याउनुपर्ने र स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म योजना बनाएर महिला नेतृत्व विकास गर्नुपर्ने तथा युवा र महिलालाई कठिन जिम्मेवारी दिएर नेतृत्व निर्माण गर्नुपर्ने बताएका छ।

रुपान्तरणको अर्थ पार्टीको शैली बदल्नु, जनतासँग बोल्ने भाषा परिवर्तन गर्नु, निर्णय प्रक्रिया छरितो बनाउनु र संगठनलाई बैठकको औपचारिकताभन्दा जनताको समस्या समाधान गर्ने केन्द्रका रूपमा विकास गर्नु भएको एमाले विधानमा उल्लेख छ। 

एमालेले पार्टीको विचार सही भएर मात्र नपुग्ने भन्दै सही कुरा सही समयमा, सही भाषामा र सही माध्यमबाट जनतासम्म पुर्‍याउनुपर्ने जनाएको छ। 

‘रुपान्तरण हुन्छ, तर एमालेको विचार र इतिहासलाई कमजोर बनाएर होइन। हस्तान्तरण हुन्छ, तर पार्टीलाई अनिश्चिततामा धकेलेर होइन। पुस्तान्तरण हुन्छ, तर पुस्ताबीच अविश्वास रोपेर होइन,’ अपानि-३ मा भनिएको छ। 

रुपान्तरण, हस्तान्तरण र पुस्तान्तरणलाई सम्मान, विधि, तयारी, प्रशिक्षण, जिम्मेवारी र संगठनात्मक अनुशासनका आधारमा अघि बढाउनुपर्ने एमालेले जनाएको छ। 

प्रकाशित: २० आश्विन २०८३ १७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App