४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

'पार्टी नफुटाऔँ कमरेड' भनेर भन्दा माधव नेपालले 'कहाँ हुन्छ' भन्नुभयो : शाक्य

नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूहरूले माधवकुमार नेपाललाई पार्टी नफुटाउनका लागि पटकपटक आग्रह गरेको बताएकी छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्।

'माधव कमरेडसँग पटक-पटक छलफल गर्‍यौँ। पार्टी फुटाउन राम्रो हुँदैन, अन्तरविरोध छन् भने त्यहीँभित्रै बहस- छलफल गर्नुपर्छ भनेर हामीलाई लागिरहेकै थियौँ। फुटको आक्रान्त त हामीलाई थाहा छँदैछ। पार्टी फुटाउनतिर नजाउँ कमरेड भन्दा कहाँ हुन्छ भन्नुभयो। सकिन्नँ, सँगै बसेर काम गर्न सकिँदैन भनेर भन्नुभयो। बरु नयाँ पार्टी बनाएर मज्जाले काम गर्ने भन्नुभयो उहाँ,' उनले भने।

उनले अन्तिममा आफूहरूले पार्टी नफुटाऔँ भनेर गरेको आग्रहलाई नेपालले नसुनेको बताइन्। पार्टी विभाजनबारे सोच्दा आफू भावुक हुने पनि बताइन्। 'मलाई सम्झिन मन लाग्दैन। मैले पनि अन्तिममा किन छाडिनँ भने मैले यही पार्टीका लागि सबै छाडेको हुँ। सन्तान, घर, आमाबुवा त्यागेँ, भनेपछि किन मैले पार्टी चेन्ज गर्ने भन्ने भयो,' उनले भनिन्।

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले २०७८ भदौमा पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गरे। त्यसअघि शाक्यसहितका १० एमाले नेताहरूले नेपालसँग वार्ता गरिरहेका थिए। त्यतिबेला के भनिन्थ्यो भने यी नेताहरूकै सल्लाहमा नेपालले पार्टी विभाजन गरेका थिए। पछि पार्टी गठन गरिसकेपछि नेपालले 'यसो पछाडि फर्केर हेर्छु त कोही छैन' भनेर अभिव्यक्तिसमेत दिएका थिए।

प्रकाशित: ३२ असार २०८२ २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App