सरकारको नेतृत्व गर्ने पहिलो महिलाको इतिहास रचेकी सुशीला कार्कीसँग अर्को इतिहास पनि छ, त्यो हो पहिलो महिला प्रधानन्यायाधीश । हक्की स्वभावकी सुशीला न्यायालयमा पनि निडर, निश्पक्ष नेतृत्वका रुपमा परिचित थिइन् । उनै सुशीला न्यायालयको नेतृत्वबाट अवकाश भएको करिब ८ वर्षपछि कार्यकारी प्रमुखको भूमिकामा पुनः नेतृत्वमा आएकी छन् ।
जेनजी युवाहरुको आन्दोलनको रापतापले ल्याएको राजनीतिक कोर्समा नेतृत्वको बागडोर सम्हाल्दै गर्दा सुशीलाका अगाडि चुनौतीका अनेकन पहाडहरु छन् । जेनजीहरुको माग सम्बोधन गर्दै आगामी ६ महिनाभित्र देशलाई राजनीतिक निकासमात्र दिनु उनी सामु पहिलो चुनौती रहनेछ ।
आन्दोलनले सिर्जना गरेको परिस्थितिपछि राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को सट्टा धारा ६१ मा निहित अधिकार प्रयोग गरी कार्कीलाई नियुक्त गरेका हुन्। नयाँ संविधान जारी भएपछि धारा ७६ बाहेक अन्य धाराबाट प्रधानमन्त्री नियुक्त भएको यो पहिलो र ऐतिहासिक घटना हो। कार्की संविधानको धारा–६१ अनुसार सरकार प्रमुखमा नियुक्त भएकी हुन्। यस्तो अवस्थामा उनले आफ्नो कार्यकालमा संविधानसभाबाट जनताले लेखेको संविधानको रक्षा गर्दै यसलाई पुनर्जिवन दिन आवश्यक देखिन्छ । न्यायापालिकामा लामो समय विताउँदै नेतृत्वबाट अवकाश भएको एउटा निडर र स्वच्छ छविको व्यक्तिका लागि संविधानको रक्षा पहिलो प्राथमिकतामा पर्नु जरुरी छ ।
जेनजीको प्रदर्शनबाट सरकारको बागडोर सम्हाल्न आइपुगेकी कार्कीलाई सोही आन्दोलनमा भएको क्षतिको भरपाइ पहिलो चुनौती बन्नेछ । आगजनीबाट क्षतिग्रस्त भएको प्रमुख प्रशासनिक केन्द्रसहित मुलुकभरका स्थानीय तहका भौतिक संरचनाहरु, आफैले इतिहास रच्दै नेतृत्व गरेको सर्वोच्च अदालतको त्यो संरचना, विभिन्न मन्त्रालयहरु, प्रहरी चौकीहरुको पुनर्निर्माणमा सरकारको कम्तीमा तीन वर्षको बजेट सकिनेछ । यसबाट मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न पूर्वश्रीमान्लाई महाभारत बन्न सक्नेछ ।
कार्की त्यो बेला सरकारको नेतृत्वमा पुगेकी छन्, जुन समय देश संकटपूर्ण अवस्थामा छ । आन्दोलन नै आन्दोलनले घेरिएको समय छ । युवाहरुको माग सम्बोधनमा ढिलपिलमात्र भएमात्र पनि अर्को आगो सल्कने सम्भावना छ । उनीहरुको मागअनुसार भ्रष्टाचार छानविनका लागि उच्चस्तरीय आयोग गठनको चुनौती छ । सरकार गठनका लागि छलफल चलिरहँदा भ्रष्टाचार छानबिनको अधिकार नदिने हो भने हातखुट्टा बाँधिएको सरकारको तेतृत्व नगर्ने आफ्नै भनाइ उनका लागि आगामी दिनमा गलपासो बन्न सक्छ ।
संविधानतः कमजोर सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने अर्को महाभारत छ । जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्दै संसदविहीन भएको अवस्थामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित फरक एजेन्डा र धारणा बोकेर संसदभित्र रहेका दलहरुलाई समेटेर अगाडि बढेन सहज पक्कै हुनेछैन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्न अस्विकार गर्दै आएपनि तीब्र दवावपछि संसद् विघटन गर्दै अन्तरिम सरकार गठन गरेका हुन् । यसबाट के प्रष्ट हुन्छ भने संसद् विघटनको असन्तुष्टि सबै दलहरुमा उत्तिकै फैलिएको हुनुपर्छ । यसको संकेत शुक्रबार नै एमाले महासचिव शंकर पोखरेलले यसको संकेत गरिसकेका छन् ।
अर्कोतर्फ राजावादीहरुले अहिलेको जेनजी आन्दोलनलाई हाइज्याक गर्दै आफ्नो बनाएर राजा फर्काउने प्रपञ्च पनि उत्तिकै छ । संसद, जननिर्वाचित संसद नभएको अवस्था र संविधान नै कमजोर बनेको अवस्थामा यसको चलखेल थप चुलिन सक्नेछ । यसबाट मुलुकलाई सफल र सुरक्षित अवतरण गराउन पनि उनलाई फलामको चिउरासरह हुनेछ । यसमा संसदको पाँचौं ठुलो दल राप्रपाको भूमिकाले पनि उनलाई पहिलो गाँसमा नै ढुंगा नलाग्ला भन्न सकिन्न ।
अर्कोतर्फ, फरक राजनीतिक धारणा र उद्धेश्य बोकेर संसदमा छिरेका रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले पनि उनका हरेक पाइलामा छिर्के लगाउने सक्नेछन् ।
यसको अलावा, किसानहरुको आन्दोलन, शिक्षकहरुको आन्दोलन, विभिन्न पेसाकर्मीहरुको आन्दोलनलाई पनि सही निकास दिन जरुरी छ । शैक्षिक क्षेत्रको वेथिती, अन्योलपूर्ण स्वास्थ्य क्षेत्र, अस्तव्यस्त भौतिक संरचना, खस्कँदै गएको अर्थतन्त्र आदिले उनको हरेक सिंहदरबार आइजाइलाई जिस्काइरहेको हुनेछ ।
राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै राजनीतिको उच्चाशनमा पुगेकी उनलाई राजनीतिका धुरन्धर खेलाडीहरुको चंगुलमा नफसी ३५ वर्षबढी देश र जनतामाथि राज गरेको राजनीतिक नेतृत्व साच्चै नै असफल थियो भन्ने प्रमाणित पनि गर्नुछ । अनिमात्र देशविदेशमा रहेका हरेक नेपाली युवाहरुको सपना र आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ५१ जनाप्रति सच्चा सम्मान हुनेछ ।
हक्की र जिद्दी स्वभाव राजनीतिलाई सही दिशामा ल्याउन आवश्यक भएपनि स्वार्थपूर्ण बन्यो भने पुनः खरानी बन्न सक्नेछ भन्ने कुराको हेक्का श्रीमान्मा पक्कै छ नै । नत्र पहिलो महिला प्रधानमन्त्रीको इतिहास कालो दिनका रुपमा लेखिनेछ । त्यसपछि फत्किएको राजनीतिक बागडोर शितल निवास पुग्छ कि कहाँ ठोकिन्छ अनिश्चित छ ।
प्रकाशित: २७ भाद्र २०८२ २३:२६ शुक्रबार





