सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्। मन्त्रिपरिषद्को सिफारिसपछि अध्यादेशहरू बिहीबार साँझ राष्ट्रपति कार्यालयमा पुगेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस गरिएको हो।
तीनै अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेपछि अब राष्ट्रपतिको निर्णयअनुसार प्रक्रिया अघि बढ्नेछ। मन्त्रिपरिषद्ले सम्बन्धित कानुनमा आवश्यक संशोधन गर्न अध्यादेशमार्फत व्यवस्था गर्ने निर्णय गरेको हो।
प्रकाशित: २२ आश्विन २०८३ १८:४९ बिहीबार





