जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार रहस्यमय ढङ्गले चलेको टिप्पणी गरेका छन् ।
सरकारका कामकारबाही, निर्णय प्रक्रिया र नीतिगत प्राथमिकतामाथि प्रश्न उठाउँदै बस्नेतले सरकार कुन दिशामा अघि बढिरहेको छ भन्ने विषयमा अन्योल देखिएको टिप्पणी गरेका हुन् ।
बस्नेतले भने, ‘सरकारले महत्वपूर्ण निर्णय कसरी गर्छ, कसको सुझाव र परामर्शमा गर्छ तथा निर्णयका आधार के हुन् भन्ने कुरा प्रष्ट छैन । सरकार संसद र जनताप्रति जवाफदेहि पनि देखिदैन । सरकारसँग पाँच वर्षको म्याण्डेट त छ तर स्पष्ट योजना र लक्ष्य छैन ।’
सत्तारुढ दल र तिनका नेता तथा सांसदहरुले समेत सरकारको कार्यशैली, निर्णय प्रक्रिया र नीतिगत प्राथमिकतामाथि प्रश्न उठाउन थालेपछि जनतामा सरकारप्रतिको विश्वास, निर्णय प्रक्रियाको पारदर्शिता र राजनीतिक स्थिरताबारे स्वभाविक संशय पैदा हुने उनको भनाइ छ ।
विगतमा आफैले गरेका प्रतिबद्धताहरुको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै कामको परिणामबाट जनतालाई विश्वस्त पार्नुपर्ने सरकारले प्रचारबाट जनतालाई आश्वस्त पार्न लागिपरेको उनको धारणा छ ।
कामकारबाही जनताका अपेक्षाबिपरित र अभिव्यक्ति राष्ट्रहित प्रतिकूल भइरहनुले पनि सरकारप्रति आशंका बढाएको बस्नेतको भनाइ छ ।
प्रकाशित: २८ कार्तिक २०८३ २०:२६ शनिबार





