राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकार केवल र्याप र भाषणमा मात्रै सीमित भएको बताएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले सरकारले जनताका वास्तविक पीडालाई बेवास्ता गरेको र भुइँतहका मानिसहरू भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको सुनाए।
प्रसाईंले प्रधानमन्त्री बालेन शाहको कार्यशैली र भाषणबाजीले मात्र देश नचल्ने बताउँदै भुइँतहका नागरिकको अवस्था दयनीय रहेको उल्लेख गरे।
‘अहिलेको सरकार केवल र्याप र भाषणमा रमाइरहेको छ, तर यता जनताले अस्पतालको बिल तिर्न सकेका छैनन्, किसानले दूधको पैसा पाएका छैनन् र सडकका व्यवसायीहरू लुटिइरहेका छन्,’ उनले भने।
विदेशी प्रभाव र आन्तरिक व्यवस्थापनमा चुकेको सरकारले सर्वसाधारणलाई सास्ती मात्र दिएको उनको जिकिर छ।
सीमा क्षेत्रमा ५ किलो चिनी बोक्ने गरिबलाई प्रहरीले दुःख दिने गरेको तर ठूला भ्रष्टाचारीहरू खुलेआम घुमिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे।
उनले थपे, ‘हिजो सडक व्यवसायी लखेटिँदा साना बालबालिका रोएको दृश्यले सरकारलाई पोल्दैन ? मुचुल्का नै नगरी कसैको घरको सामान उठाउनु फाँसीवादको पराकाष्ठा हो।’
संयोजक प्रसाईंले इन्धनको मूल्यवृद्धिलगायतका जनविरोधी निर्णय एक साताभित्र फिर्ता नभए महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा देशव्यापी आन्दोलन छेड्ने चेतावनी दिए।
बैंक, लघुवित्त र सहकारीको ऋणले थिचिएका नागरिकहरूलाई न्याय दिलाउन आफ्नो अभियानले सडकबाटै हस्तक्षेप गर्ने उनले बताए।
प्रकाशित: ५ वैशाख २०८३ १५:३४ शनिबार




