नेपाल जहाँ हरेक पुस्ताले आफ्नो समयको अन्यायसँग जुध्दै नयाँ आशा जन्माउने प्रयास गरे । तर ती आशाहरू प्रायः अधुरा नै रहँदै आए । २००७ सालमा राणा शासनको अन्त्यसँगै सुरु भएको लोकतान्त्रिक यात्रा, २०४६ को जनआन्दोलन हुँदै २०६२–६३ को ऐतिहासिक आन्दोलनसम्म आइपुग्दा व्यवस्था फेरियो तर नागरिकले खोजेको सुशासन र समान अवसरको अनुभूति भने अझै अधुरै रह्यो ।
त्यही अपूरो सपनाको विरासत बोकेर एउटा नयाँ पुस्ता फेरि उदायो । प्रविधिसँग हुर्किएको, विश्वसँग जोडिएको र प्रश्न गर्न नडराउने पुस्ता । यही पुस्ता हो जेनजी, जसले बन्दुक होइन, मोबाइल फोनलाई आफ्नो आवाज बनायो, सडक मात्र होइन, डिजिटल प्लेटफर्मलाई पनि आफ्नो आन्दोलनको माध्यम बनायो ।
यो पुस्ताले युद्धको त्रास त भोगेन तर अस्थिरताको पीडा गहिरो रूपमा महसुस गर्यो । उनीहरूले आफ्ना दाजुभाइ, दिदीबहिनीलाई पढाइ सकेर बिदेसिन बाध्य भएको देखे । देशभित्र उद्योगहरू बन्द हुँदै गएको, अवसरहरू सीमित हुँदै गएको र पहुँच तथा शक्ति भएकाहरूले मात्र प्रणालीमा स्थान पाएको अनुभूति गरे । बेरोजगारी, असमानता र राजनीतिक अस्थिरताले उनीहरूमा निराशाको बिउ रोप्यो । जुन बिस्तारै आक्रोशमा परिणत हुँदै गयो ।
नेपालको कमजोर बन्दै गएको अर्थतन्त्र, नीतिगत अनिश्चितता, बारम्बारको सरकार परिवर्तन र दीर्घकालीन योजनाको अभावले गर्दा उद्योग–व्यवसाय थला पर्दै गए । जसले रोजगारीको सम्भावनालाई झनै संकुचित बनायो । शिक्षा पूरा गरेपछि पनि काम नपाउने अवस्थाले गर्दा युवाहरूको ठुलो हिस्सा अस्ट्रेलिया, कोरिया, खाडी मुलुकतर्फ लाग्न बाध्य भयो । कोही पढ्न, कोही काम गर्न, कोही केवल आफ्नो अस्तित्व जोगाउन ।
विदेश पुगेका ती युवाले आफ्नो देशप्रतिको सम्बन्ध तोडेनन् । सामाजिक सञ्जालमार्फत उनीहरूले निरन्तर आवाज उठाए– भ्रष्टाचारविरुद्ध, कुशासनविरुद्ध र अवसरको असमानताविरुद्ध । उनीहरूको आलोचना केवल भावनात्मक थिएन, त्यो अनुभवमा आधारित थियो, तुलना गरिएको थियो र परिवर्तनको मागमा केन्द्रित थियो ।
यसैबिच सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुनुपर्ने नीति अघि सारेपछि विवाद सुरु भयो । विदेशी कम्पनीले नेपालको अनुरोध स्वीकार गरेन । अन्ततः भदौ १९ गते सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरियो । यो निर्णयले पहिले नै असन्तुष्ट रहेका युवाहरूलाई झनै आक्रोशित बनायो । किनकि उनीहरूले यसलाई आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथिको सिधा आक्रमणका रूपमा लिए ।
यदि वर्तमान नेतृत्व सफल भयो भने नेपालले केवल सरकार परिवर्तनको अनुभूति मात्र गर्ने छैन, नागरिकप्रति उत्तरदायी शासन प्रणालीको वास्तविक अभ्यास अनुभव गर्नेछ । त्यो दिन केवल जेनजीको जित हुनेछैन, समग्र नेपालले आफ्नो भविष्यप्रतिको विश्वास पुनः प्राप्त गर्नेछ ।
भदौ २३ गते, यही आक्रोश सडकमा देखियो । हजारौं युवा शान्तिपूर्ण रूपमा माइतीघर मण्डलामा भेला भए । ‘भ्रष्टाचार अन्त्य गर’, ‘पारदर्शी शासन देऊ’, ‘हामीलाई समान अवसर चाहिन्छ’ भन्दै नारा लगाए । आन्दोलन सिर्जनात्मक, अनुशासित र स्पष्ट मागसहित अघि बढिरहेको थियो ।
राज्यको प्रतिक्रिया ढिलो र असमझदारीपूर्ण रह्यो । कफ्र्यू जारी गरियो, सुरक्षा बल परिचालन गरियो र तनाव बढ्दै गयो । त्यसपछि गोली चल्यो । पहिलो दिनमै १९ युवाले ज्यान गुमाए । देश स्तब्ध भयो, परिवारहरू शोकमा डुबे र आन्दोलनले नयाँ मोड लियो ।
भदौ २४ गते आन्दोलनको स्वरूप परिवर्तन भयो । शान्तिपूर्ण भिडभित्र अराजक तत्त्वहरूको प्रवेश भयो । जसले आन्दोलनको चरित्रलाई विकृत बनायो । सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न सरकारी कार्यालयहरूमा आगजनी र तोडफोडका घटना भए । जसले देशलाई भय, अन्योल र अराजकतामा धकेल्यो ।
दुई दिनमै ७० भन्दा बढीको ज्यान गयो र खर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भयो । आन्दोलन, जसले आशा बोकेको थियो, अचानक संकटको केन्द्रमा परिणत भयो ।
यही दबाबबिच राजनीतिक परिवर्तन भयो । प्रधानमन्त्रीले राजीनामा दिए र भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो । छानबिन समिति गठन र नयाँ निर्वाचन घोषणा गरियो, जसले आन्दोलनलाई संस्थागत मार्गमा ल्याउने प्रयास गर्यो ।
फागुन २१ गते सम्पन्न निर्वाचनले जनताको स्पष्ट सन्देश दियो– परिवर्तन आवश्यक छ । नयाँ पुस्ताको आशा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व सफलता हासिल गर्दै १८२ सिट जित्यो । जसले पुराना राजनीतिक शक्तिहरूलाई कमजोर बनायो ।
भावना र नाराले मात्र अब पुग्दैन । परिणाम देखिनुपर्छ, प्रणाली बदलिनुपर्छ, र नागरिकले प्रत्यक्ष अनुभूति गर्नुपर्छ । विगतका कमजोरी दोहोराउने होइन, त्यसबाट शिक्षा लिएर उत्कृष्ट बाटो पहिल्याउनुपर्छ ।
चैत १३ गते, राम नवमीको दिन रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए । अब उनको काँधमा केवल सरकार चलाउने जिम्मेवारी मात्र छैन । त्योभन्दा ठुलो जिम्मेवारी– जनताको विश्वास जोगाउने, जेनजीको आशालाई परिणाममा रूपान्तरण गर्ने र देशलाई स्थिर तथा समृद्ध मार्गमा अघि बढाउने रहेको छ ।
नीतिगत स्थिरता कायम गर्ने, रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासनलाई व्यवहारमा उतार्ने काममा यो सरकारको चुनौती छ । भावना र नाराले मात्र अब पुग्दैन । परिणाम देखिनुपर्छ, प्रणाली बदलिनुपर्छ, र नागरिकले प्रत्यक्ष अनुभूति गर्नुपर्छ । विगतका कमजोरी दोहोराउने होइन, त्यसबाट शिक्षा लिएर उत्कृष्ट बाटो पहिल्याउनुपर्छ ।
यो आन्दोलन अब केवल जेनजीको सीमित आन्दोलन रहेन, यो सम्पूर्ण नेपालको साझा आकांक्षामा रूपान्तरण भइसकेको छ । आम नेपालीले यो परिवर्तनबाट आशा पालेका छन् ।
यो नेतृत्वले आफ्नो प्रतिबद्धताअनुसार पारदर्शिता, जवाफदेहिता र समावेशी विकासलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना र व्यावहारिक सुधारमार्फत देशलाई अगाडि बढाउन सफल हुनुपर्छ । त्यसो भयो भने नेपालले केवल सरकार परिवर्तनको अनुभव मात्र गर्ने छैन, नयाँ राजनीतिक संस्कारको जन्म हुनेछ । त्यो दिन इतिहासले यसलाई केवल एक आन्दोलनको सफलताका रूपमा होइन, एक राष्ट्रको पुनर्जन्मका रूपमा सम्झिनेछ ।
प्रकाशित: ११ वैशाख २०८३ १५:०४ शुक्रबार





