२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

जलवायुजन्य विपद्को क्षति यूएनमा तथ्यसहित उठाउनुपर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने बताएका छन्।

शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्री बालेन्द्र शाहले यूएनमा नेपालको विपद्, जलवायु परिवर्तनका कारण भएको क्षति, कार्बन उत्सर्जनमा नेपालको न्यून योगदान तथा हिमताल विस्फोटको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए।

‘प्रधानमन्त्रीजीले जलवायु परिवर्तनको कारण हामीले भोग्नुपरेको मानवीय र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्छ,’ उनले भने।

शर्माले मृत्यु र बेपत्ताको तथ्यांकसँगै प्रभावित परिवार तथा बालबालिकाले भोगिरहेको पीडालाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने बताए। राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिवेदनमा ४९ जना बालिका र ५३ जना बालकले दुवै अभिभावक गुमाएको उल्लेख रहेको उनले जानकारी दिए।

‘क्षति भनेको देखिएको भौतिक क्षति मात्रै होइन, हाम्रो सम्भावनाको क्षति पनि यसलाई जोड्नुपर्छ,’ शर्माले भने।

उनले विपद्बाट घर, सडक, विद्यालय, अस्पताल तथा विद्युत् आयोजनामा भएको क्षतिको विवरण तयार गरी यूएनमा प्रस्तुत गर्नुपर्ने बताए। त्यसका लागि नीति प्रतिष्ठानले डा. गोविन्द पोखरेलको नेतृत्वमा ‘पोस्ट डिजास्टर निड एसेसमेन्ट’ (पीडीएनए) सम्बन्धी तयारी गरिरहेको उनले जानकारी दिए।

हिमताल विस्फोटको जोखिम पनि उठाउनुपर्ने

शर्माले नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताए।

पेरिस सम्झौताको ‘लस एन्ड ड्यामेज’ सम्बन्धी व्यवस्थालाई समेत स्मरण गराउनुपर्ने उनको भनाइ छ।

इसिमोडको प्रतिवेदनअनुसार हिमालय क्षेत्रमा जोखिममा रहेका हिमतालको विषयलाई पनि यूएनमा उठाउनुपर्ने शर्माले बताए।

उनले विपद्का बेला राजनीतिक आग्रहभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नु जिम्मेवार प्रतिपक्षको कर्तव्य भएको धारणा राखे।

प्रकाशित: २ आश्विन २०८३ १६:५९ शुक्रबार