२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

देशको वर्तमान संकटको समाधान क्षणिक उत्तेजनाबाट सम्भव हुँदैन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्।

पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरेका छन्। 'देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मा आफैँभित्रका विकृति (लागुऔषधको दुर्व्यसन जस्ता गम्भीर विचलन) र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले बिस्तारै महसुस गर्न थालेको छ,' उनले भनेका छन्।

यस्तै, उनले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको व्यवहार नै विरोधाभासपूर्ण देखिएको उल्लेख गरेका छन्। चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको पोखरेलको भनाइ छ।

उनले भने, 'चर्का भाषण र सस्तो लोकप्रियता (पपुलिजम) को भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको छ।'

हिजो देशमा केही भएकै थिएन भन्ने भाष्य गलत भएको उनले जिकिर गरे। विगतमा धेरै कामहरू भएका र विकासको प्रक्रिया अघि बढ्दै पनि रहेको बताउँदै उनले भने, 'पूर्वाधार र सूचना प्रविधिको विकासले समाजमा वस्तु र सेवाको उपलब्धता त सहज बनायो, जसले गर्दा आम मानिसको अपेक्षा र चाहना ह्वात्तै वृद्धि भयो। तर, सोही अनुरूप नागरिकको वैधानिक आयमा भने वृद्धि हुन सकेन।'

प्रकाशित: २९ असार २०८३ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App