९ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

अहिले सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौती एक देशमा सीमित छैन : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अहिले सञ्चार क्षेत्रले सामना गरिरहेका धेरै चुनौती कुनै एक देशमा सीमित नरहेको बताएका छन्।

सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन्। उनले एआई, गलत सूचना र दुष्प्रचार सीमापार फैलिन सक्ने तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्का प्रभाव पनि बहुदेशीय हुने भएकाले देशहरूबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदान आवश्यक रहेको बताए।

विश्वभरका सञ्चार माध्यामले वित्तीय दिगोपना, बदलिँदो पाठक, दर्शक तथा श्रोताको व्यवहार र सञ्चार संस्थाप्रतिको घट्दो विश्वासजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रसारणका लागि चुनौती अझ गम्भीर रहेको बताए। सार्वजनिक सेवा प्रसारणले व्यावसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको जिम्मेवारीसमेत पूरा गर्नुपर्ने भएकाले यसको भूमिका विशिष्ट रहेको उनको भनाइ थियो।

सञ्चारमन्त्री तिमिल्सिनाले एआई, डिजिटल प्लेटफर्म, मोबाइल कनेक्टिभिटी र स्ट्रिमिङ सेवाले सामग्री उत्पादनदेखि वितरण र दर्शकसँगको अन्तर्क्रियासम्म सञ्चारको सम्पूर्ण शृङ्खला परिवर्तन गरिरहेको बताए। उनले यस्ता परिवर्तनलाई चुनौतीका रूपमा मात्र नभई ठूलो सम्भावनाका रूपमा पनि उपयोग गर्नुपर्ने धारणा राखे।

एआईको प्रयोगमा मानवीय सम्पादकीय निर्णय, तथ्य प्रमाणीकरण, जवाफदेहिता र व्यावसायिक नैतिकतालाई प्रविधिले विस्थापित गर्न नसक्ने सञ्चारमन्त्री तिमिल्सिनाले बताए। एआईले सामग्री तयार गर्न सहयोग गर्न सक्ने भए पनि त्यसको सत्यता, सन्दर्भ, सामाजिक प्रभाव र सार्वजनिक हितको अन्तिम जिम्मेवारी मानवमै रहने उनले स्पष्ट गरे।

प्रकाशित: ९ भाद्र २०८३ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App