राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकलाई ठग्ने र लुट्ने कसैलाई पनि उन्मुक्ति नदिने चेतावनी दिएका छन्।
चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारमा लिप्त रहेका र देशको सम्पत्ति विदेश पुर्याउनेहरूको हिसाबकिताब गरिने बताएका हुन्।
लामिछानेले आफ्नो पार्टीले सत्ता सम्हालेपछि कसैसँग राजनीतिक प्रतिशोध नसाँध्ने तर सुशासन र पारदर्शीताको सवालमा कसैलाई पनि नछोड्ने स्पष्ट पारे।
उनले भने, ‘हामीलाई राजनीतिक प्रतिशोध लिनु छैन। तर जनता र देशलाई ठगेको, लुटेको र देशमा पैसा नअटाएर विदेशमा समेत जम्मा गरेको सम्पत्तिको अनिवार्य छानबिन र हिसाब हुन्छ।’
एमाले अध्यक्ष केपी ओलीले शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसालाई ‘एआई’ भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै लामिछानेले त्यसको पनि सत्यतथ्य बाहिर ल्याउने बताए।
‘भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ ? जसजसले एआईमा जलेको पैसा भनेका छन् नि, त्यसको छानबिन रास्वपाले गर्छ,’ उनले भने, ‘त्यो साँच्चिकै एआई हो कि होइन भन्ने कुराको दूधको दूध पानीको पानी हामी छुट्याउँछौँ।’
सभापति लामिछानेले भ्रष्टाचारका कारण देशमा अवसर नपाएर विदेशिन बाध्य युवाहरूको पीडालाई पनि सम्बोधन गरे।
उनले भने, ‘आज आफ्नो बुवालाई राम्रो जुत्ता लगाइदिन नसकेर अरबको खाडीमा पसिना बगाइरहेका भाइहरूको पसिनाको हिसाब हुन्छ। रुवाउँदै जनता लखेट्ने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ।’
उनले आगामी २१ गते हुने निर्वाचनमा मतपत्रको सदुपयोग गर्दै घण्टी चिह्नमा मतदान गर्न र लुटतन्त्रविरुद्ध नयाँ इतिहास रच्न आम मतदातालाई अपिल गरेका छन्।
प्रकाशित: १० फाल्गुन २०८२ २०:३५ आइतबार




-600x400.jpg)
