हामी नेपालका संयोजक सुदन गुरुङले देश बचाउन आफूहरूले संविधान खारेज नगरेको बताएका छन् ।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफू एक्लैले यत्रो ठूलो निर्णय गर्न नसक्ने बताएका हुन ।
उनले भने, ‘धेरै जनताको माग छ । म एक्लै केही पनि गर्न सक्दिन । संविधान खारेज गर्ने कि नगर्ने ? गर्यो भने के हुन्छ, के हुँदैन ? यो अन्यौलता नै रह्यो ।’ तर धेरै जनताबाट संविधान खारेज गर्नुपर्ने कुरा आएको पनि उनले सुनाए ।
‘यो आन्दोलन जनताले गरेको आन्दोलन हो । यहाँ म जस लिन आएको पनि होइन । म कुनै पदमा पुग्नका लागि यसो गरेको पनि होइन । तपाईंहरूले सुन्नु भएको छ म कुनै मन्त्रीको लागि बार्गेनिङ गरिरहेको छु । म त देशको परिवर्तन चाहन्छु,’ उनले सञ्चारकर्मीसँग भने ।
उनले भने, ‘संविधान खारेजीको कुरा पनि नउठेको होइन उठ्यो । तर नेपालको संविधान नै खारेज भयो भने इन्डियाले नै देश लैजान्छ भन्ने पनि सुने अनि देशको रक्षाका लागि हामीले संविधानको रक्षा गर्यौँ ।’
तर, लिम्पियाँधुरा हाम्रो भूभाग भएको कुरा सबै नेपालीलाई थाहा भएको उल्लेख गर्दै उनले संविधान खारेजको माग तत्काल अघि नबढाएको बताए । ‘जे जस्तो भए पनि लिम्पियाँधुरा हाम्रो हो भन्ने हामी सबैलाई थाहा छ । त्यसैले संविधान खारेजको माग अगाडि राख्न सकेनौँ,’ गुरुङले भने।
उनले काठमाडौं केन्द्रित सोचले मात्रै निर्णय गर्न नमिल्ने बताए । देशका सबै क्षेत्र सुदूरपश्चिम, पूर्व र पश्चिमलाई ध्यानमा राखेर निर्णय लिनुपर्ने आवश्यकता रहेको उनले बताए । गुरुङले भने, ‘संविधान खारेज गर्यो भने हाम्रो लिम्पियाधुरा सबै जान्छ भनेर नगरेको हो,’ उनले भने ।
प्रकाशित: ५ आश्विन २०८२ २०:०८ आइतबार





