सत्तापक्षका सांसद रहबर अन्सारीले चिकित्सा शिक्षा क्षेत्रमा लापरबाही र अनियमितता बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै अन्सारीले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत पोस्टग्राजुएट विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको उल्लेख गर्दै उनीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे।
अन्सारीले विद्यार्थीहरूले मेडिकल कलेजमा भइरहेको भनिएको अनियमितता सार्वजनिक गरेपछि उनीहरूमाथि यस्तो व्यवहार गरिएको दाबी गरे। कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ देखाएर पीजी सिट लिइएको बताए।
‘नक्कली बिरामी, नक्कली शिक्षक र नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाइरहेका कलेजहरूलाई राज्यले आफ्ना गहना विद्यार्थीहरूको भविष्य अन्योलमा पार्न मिल्दैन,’ अन्सारीले भने।
उनले विगतमा राजनीतिक पहुँचका कारण सम्बन्धित संस्थामाथि प्रभावकारी कारबाही हुन नसकेको आरोप लगाए। चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय तथा स्थानीय प्रशासनसम्ममा प्रभाव पारेर कारबाही रोक्ने गरिएको बताए।
‘यो कुनै एउटा संस्थाप्रतिको आरोप होइन। राज्यमा भइरहेको बेथिति र यो गोरखधन्दा कसरी बन्द गर्ने भन्ने विषय हो। आज ती विद्यार्थीहरू काठमाडौँको सडकमा घुमिरहेका छन्, कुनै सुनुवाइ भएको छैन,’ उनले भने।
अन्सारीले शिक्षामन्त्रीलाई विद्यार्थीको समस्याबारे गम्भीरतापूर्वक छानबिन गरी उनीहरूको अध्ययन निरन्तरताका लागि आवश्यक व्यवस्थापन गर्न आग्रह गरे। मेरिटोक्रेसीका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिको विषयमा आवाज उठाउँदै आएको सरकारले चिकित्सा शिक्षा क्षेत्रमा पनि त्यही आधारमा काम गर्नुपर्ने उनको भनाइ थियो।
उनले कलेजमा परीक्षा र मूल्यांकनमा समेत आर्थिक अनियमितता हुने गरेको भन्दै नेपाली विद्यार्थीबाट एउटा विषय पास गराउन तीन लाख रुपैयाँ र विदेशी विद्यार्थीबाट पाँच लाख रुपैयाँसम्म लिने तथा उत्तरपुस्तिकामा उत्तर नै भरिदिएर पास गराउने गरिएको बताए।
प्रकाशित: १६ आश्विन २०८३ १३:२३ शुक्रबार





