१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशन प्रतिनिधि भन्छन्ः नेतृत्व परिवर्तन खोजेका हौँ, तर पार्टी नफुटोस्

अहिले काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहेको छ। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको हो।  

यो महाधिवेशनमा सातै प्रदेशबाट प्रतिनिधिहरू आएका छन्। प्रतिनिधिहरूले आफू महाधिवेशनमा आउनुको एक मात्र कारण पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्। मुलुकभर नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको चर्चा छ। तर यहाँ आएका प्रतिनिधिहरू भने पार्टीमा रूपान्तरण चाहेको, तर पार्टी फुटेको हेर्न नचाहेको बताउँछन्।  

सिन्धुपाल्चोककी महाधिवेशन प्रतिनिधि गोपिनी गिरी मंसिरमा नियमित महाधिवेशन नभएपछि विशेष महाधिवेशन आवश्यक बनेको बताउँछिन्। ‘हाम्रा सभापतिले तोकिएको समयमा गर्न सक्नु भएन,’ उनले भनिन्, ‘अनि महामन्त्रीहरूको प्रस्तावमा हामी विशेष महाधिवेशन गर्न तयार भयौँ।’  

गिरीले आफ्नो पार्टी फुटाउने उद्देश्य नभएको बताउँछिन्। ‘हामी महाधिवेशन प्रतिनिधिको चाहना फुटोस् भन्ने होइन्, बलियो र मजबुत एकतासहितको पार्टी बनाउने हो,’ उनले भनिन्। जेनजी आन्दोलनपछि देशसँगै पार्टीलाई पनि नयाँ नेतृत्वको खाँचो भएको उनको धारणा छ।  

गिरी जस्तै बाराबाट आएकी मधु शाही ठकुरीको भनाइ पनि उस्तै छ। उनले विशेष महाधिवेशनको उद्देश्य नै नयाँ नेतृत्व र नयाँ नीति नै रहेको भनाइ राखिन्। उनले कांग्रसभित्र परिवारवाद चलेको भन्दै यसलाई तोड्न यो विशेष महाधिवेशन गरिएको बताइन्। ‘विशेष महाधिवेशनको उद्देश्य नै हो नयाँ नीति, नयाँ नेतृत्व,’ उनले भनिन्,‘सधैँभरि पार्टी जुन परिवारवाद हाबी थियो त्यसलाई चिर्न नै हामी आएका हौँ।’  

उनले हारेको र पराजित मानसिकता भएका व्यक्तिले मात्र नेपाली कांग्रेस फुट्छ भनिरहेको दाबी गरिन्। ‘कसरी पार्टी फुट्छ? पार्टी फुट्नका लागि होइन जुट्नका लागि यो महाधिवेशन हो। यो महाधिवेशन पार्टी फुट्दैन। झन् बलियो हुन्छ,’ उनले भनिन्। अब महाधिवेशनबाट युवाहरूलाई नेतृत्व दिएर पार्टीलाई पनि अझ बलियो बनाउने उनले बताइन्।  

बाराबाटै आएका बजरंगी साहले जेनजी आन्दोलनपछि नेपालमा बद्लिएको परिस्थिति रहेको भन्दै पार्टीले पनि आफ्नो नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।  

‘जेनजी आन्दोलनपछि नेपालको जुन बद्लिँदो परिस्थितिमा रहेको छ। यसकारण नै हामीले विशेष महाधिवशेनको माग गर्दै आएका थियौँ र आज हामी यहाँ छौँ,’ साह भन्छन्, ‘साथै यो महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने हाम्रो माग हो।’ कांग्रेसमा युवाको नयाँ नेतृत्व आयो भने पार्टीमा ऊर्जा आउने र गाउँ–गाउँमा विश्वास पनि बढ्ने उनको भनाइ छ।  

उनले पनि नयाँ नेतृत्व हुँदैमा पार्टी नफुट्ने बताउँछन्। ‘पार्टी फुट्दैन। पार्टीका पुराना नेता तथा कार्यकर्ताहरू पनि पछि यसैमा आउँछन्। यहाँ नआएर कहाँ जान्छन्?’, उनले भने।  

रौतहतका रामसहाय यादव पनि यसै महाधिवेशबाट पार्टीमा नयाँ नेतृत्व चयन हुनेमा विश्वस्त छन्। ‘हाम्रो पार्टी फुट्दैन। झन जुट्छ। आज हामी यहाँ पार्टीलाई एक जुट बनाउन आएका हौँ। जुन फुटेको थियो त्यसलाई पनि जुटाएर हामी यहाँबाट जान्छौँ’, उनले भने।  

नुवाकोटकी रुक्मिनी सेढाइँले कांग्रेसलाई एक ढिक्का भएर लैजान नै विशेष महाधिवेशन आह्वान भएको दाबी गर्छिन्। उनले भनिन्, ‘कांग्रेसको नियमित महाधिवेशन नभएर हामी घेराबन्दीमा थियौँ। त्यसैले हामी महाधिवेशन प्रतिनिधिहरू नै एक भएर विशेष महाधिवेशनमा जानुपर्छ भनेका थियौँ। यसैबाट हामी युवाको नेतृत्वमा पार्टीको नेतृत्व चयन गर्छौँ।’  

नवलपुरकी हुमीसरा आले मगरले पनि यहाँ आउनुको प्रमुख कारण नै पार्टीको नेतृत्व परिवर्तन र पुस्तान्तरण भएको बताइन्।  ‘हाम्रो मेन एजेन्डा नै कांग्रेसलाई एक जुट भएर लैजाने र यो महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न होस् भन्ने हो,’ उनले भनिन्।

नवलपुरकै खगिसरा गुरुङ र ओमकुमारी महतो थारुले जेनजी आन्दोलनपछि नियमित महाधिवेशन नहुँदा पार्टी उकुसमुकुसको अवस्थामा रहेको बताउँदै यो महाधिवेशनको आवश्यकता भएको बताउँछन्। यद्यपी उनीहरूले पार्टी फुट्न नहुनेमा जोड दिन्छन्। उनीहरू एकै स्वरमा भन्छन्, ‘पार्टीभित्र बृहत् रूपमा रहेको गुटलाई चिर्न यो विशेष महाधिवेशन गर्यौँ। तर पार्टी फुट्दै फुट्दैन र फुट्नु पनि हुँदैन र हामी पार्टीलाई फुट्न पनि दिँदैनौँ।’

दैलेखकी करिस्माकुमारी सिजाली मगरलाई पनि पार्टीको नेतृत्व चयन भएको देख्न मन छ। उनले पनि पार्टीले पुस्तान्तरण र हस्तान्तरणको नीति लिनुपर्नेमा जोड दिन्छिन्। यहीँ भनिरहँदा उनले पनि नफुट्ने र फुटको संघारमा जान पार्टीलाई रोक्नुपर्ने भनाइ राखिन्।

महाधिवेशनले नेतृत्व परिवर्तन गरेर जाँदा कतै पार्टी फुट्ने हो कि भन्ने चिन्ता गर्नेहरू पनि भेटिए। कतिपय प्रतिनिधिले अहिलेको महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा सम्पन्न गरेर जाँदा पार्टी एकता जोगिने आशा राखेका छन्।  

यस्तै चिन्ता गर्नेमा रौतहटका बच्चु साह कानु पनि पर्छन्। ‘नेतृत्व परिवर्तन गर्दा पार्टी फुट्न सक्ने सम्भावना हुन्छ। यस कारण नयाँ नेतृत्व चयन हुनु हुँदैन तर विधानमा भने केही परिवर्तन हुनुपर्छ,’ उनले भने।

प्रकाशित: २८ पुस २०८२ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App