१ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

सांसदहरूको अडानसामु झुके सभामुख: सरकारलाई ३ दिनभित्र जवाफ दिन रुलिङ

सदनमा उठाएका जनसरोकारका विषयमा रुलिङ नभएसम्म उभिएरै विरोध गर्ने सांसदहरूको अडानपछि सभामुखले तीन दिनभित्र संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले आफूहरूले उठाएका विषयमा सभामुखबाट रुलिङको माग गर्दै उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले भने, ‘...तीन दिनभित्र सरकारलाई यसको जवाफ दिन निर्देश गर्छु।’

बैठकमा सांसद तामाङले ३७ दिनअघि कम्बोडियामा ज्यान गुमाएका धादिङका सन्तोष राईको शव स्वदेश झिकाउन माग गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै आक्रोश पोखिन्।

विदेशमा रहेका शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको दुई साता बितिसक्दा पनि परराष्ट्र मन्त्रालयले सामान्य कार्यविधिसमेत नबनाएकोमा उनले आपत्ति जनाइन्।

‘बजेटलाई चलाउन परराष्ट्र मन्त्रालयले सामान्य कार्यविधि नबनाइदिँदा आज आफ्नाले लासको आस गर्न छोडेका छन्,’ सांसद तामाङले भनिन्, ‘विदेशमा अलपत्र परेका नेपाली देशको नागरिक होइनन् भनेर घोषणा गरिदिनुपर्‍यो, नभए तुरुन्त शव झिकाउनुपर्‍यो।’

बैठकको सुरुवातमै बोल्न समय मागेकी तामाङलाई सभामुखले आकस्मिक समय सकिएपछि पनि बस्न आग्रह गरेका थिए। तर, उनले अडान नछोडेपछि सभामुखले दुई मिनेटको समय उपलब्ध गराएका थिए।

समय पाएलगत्तै उनले भनिन्, ‘जसरी ३७ दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा, झ्यालमा, बेञ्चमा उभिएर बसिरहेको छ, आज म सभामुखज्यूबाट रुलिङ नहुन्जेलसम्म, मेरो प्रश्नको जवाफ पाउन्जेलसम्म उभिएर सदनमा विरोध गर्न चाहन्छु।’

त्यसअघि, नेकपाका सांसद गोपाल शर्माले गएको साउन २२ गते रुकुम, जाजरकोट र सल्यानलगायतका भूकम्पपीडितको काम अघि बढाउन माग गर्दा पनि सरकार मौन बसेको बताएका थिए। ‘गत २२ गते मैले सरकारलाई ९ दिनको अल्टिमेटम दिएर कम्तिमा जवाफ देओस् भनेर जवाफ खोजेको थिएँ सभामुख महोदय,’ उनले भने, ‘समय तोकेर रुलिङ होस्।’

दुवै सांसदले आफ्ना माग सम्बोधन नभएसम्म बस्न अस्वीकार गरेपछि सभामुखले सरकारलाई तीन दिनभित्र जवाफ दिन निर्देशन जारी गरेका हुन्।

प्रकाशित: १ भाद्र २०८३ १५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App