सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्माणाधीन संसद भवनको प्रगतिप्रति चासो व्यक्त गर्दै तोकिएको समयभित्र गुणस्तरीय रूपमा निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सोमबार शहरी विकास मन्त्रालयका अधिकारी तथा निर्माण कम्पनीका प्रतिनिधिसँगको छलफलमा सभामुख अर्यालले निर्माण कार्यमा देखिएको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै कामलाई तीव्र गतिमा अघि बढाउन आग्रह गरेका हुन्।
उक्त छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रूबी कुमारी तथा राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको पनि उपस्थिति थियो।
२०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता भई सुरु गरिएको संसद् भवन निर्माण कार्य प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म पूरा भएको छैन। हालसम्म छ पटक म्याद थप भइसकेको छ। पछिल्लो कार्यतालिका अनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ। निर्माणाधीनकै अवस्थामा प्रतिनिधि सभाको पहिलो अधिवेशन सञ्चालन भएको थियो।
शहरी विकास मन्त्रालयका अनुसार हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेका आन्तरिक संरचना तथा फिनिसिङ सम्बन्धी कार्यहरू तीव्र गतिमा अघि बढिरहेको जनाइएको छ।
भवनको इन्टेरियर डिजाइन तथा निर्माणका लागि केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लिएको छ भने छाना निर्माण कार्य चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा सम्पन्न गरिरहेको छ।
प्रकाशित: ३० चैत्र २०८२ १६:२१ सोमबार





