नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी अभियानदेखि नै सक्रिय रहेको भन्दै उनी प्रधानमन्त्री बनेपछि गरेका गतिविधिले गम्भीर आशंका जन्माएको बताएका छन्।
प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीको चुनावी अभियानमा सँगै रहेका सापकोटाका गतिविधि अहिले सार्वजनिक भइरहेकाले उनी राज्यका विभिन्न अंगलाई प्रभावित पार्न परिचालित पात्र त थिएनन् भन्ने प्रश्न उठेको बताए।
पोखरेलले प्रधानमन्त्रीले नै सापकोटालाई गिरफ्तार गराएको भन्ने चर्चा भइरहे पनि त्यसको उद्देश्यप्रति समेत आशंका व्यक्त गरे। राज्यका सबै अंगलाई कार्यपालिकाको अधीनस्थ राख्ने प्रपञ्चका रूपमा यो घटना अघि बढाइएको त होइन भन्ने प्रश्नसमेत उनले उठाए।
उनले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि देखिएको दाबी गरे। देश कसले चलाइरहेको छ भन्ने प्रश्न रास्वपाकै नेताहरूको असन्तुष्टिले जन्माएको उनको भनाइ छ।
लोकतन्त्रमा प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग संवाद गर्नुपर्ने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउने संसद्, संसदीय दल र पार्टीलाई समेत नचिनेको आरोप लगाए।
उनले उच्च अदालतका न्यायाधीशलाई धम्की दिएर आफ्नो स्वार्थअनुकूल निर्णय गराउने प्रयास भएको, सुरक्षा निकायलाई प्रभावित पार्न खोजिएको तथा सत्तारूढ दलका सांसदहरूले सुरक्षा निकायका प्रमुखमाथि बिना प्रमाण आरोप लगाएर उनीहरूको मनोबल गिराउने काम गरेको दाबी गरे।
यी गतिविधिले मुलुक असफल राष्ट्रतर्फ उन्मुख हुने हो कि भन्ने आशंका पैदा गरेको पोखरेलको भनाइ छ।
प्रकाशित: १७ कार्तिक २०८३ ११:५८ मंगलबार





